Online Bichar
शुक्रबार, जेठ १५, २०८३ | Friday, May 29, 2026

काठमाडौं, १४ जेठ २०८३ । सरकारले नागरिकको स्वास्थ्य उपचारलाई सहज र पहुँचयोग्य बनाउन सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँ विनियोजन भएको थियो । तर, बिमा दाबी भुक्तानीतर्फको बक्यौता बढ्दै जाँदा कार्यक्रमको प्रभावकारितामाथि चुनौती थपिएको देखिएको छ ।

स्वास्थ्य, खाद्य तथा स्वच्छता मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको प्रगति विवरणअनुसार स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन तथा विस्तारका लागि सरकारले १० अर्ब रुपैयाँ बजेट छुट्याएको थियो ।

मन्त्रालयका अनुसार, चालु आर्थिक वर्षमा नेपाल सरकारबाट प्राप्त कुल ११ अर्ब ७५ करोड रुपैयाँमध्ये हालसम्म १२ हजार दाबी भुक्तानी गरिएको छ । तर, अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा समयमै रकम भुक्तानी हुन नसक्दा बक्यौता रकम लगातार बढिरहेको उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार चैत मसान्तसम्म स्वास्थ्य बिमा बोर्डअन्तर्गत अनुमानित १८ अर्ब ३१ करोड ५१ लाख ९२ हजार ७३० रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । बक्यौता रकम उच्च हुँदा स्वास्थ्य संस्थाबाट प्रवाह हुने बिमित सेवामा असर पर्न सक्ने चिन्ता समेत व्यक्त गरिएको छ ।

मन्त्रालयले स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित बनाउन अनलाइन प्रणालीको प्रयोग, दोहोरो दाबी नियन्त्रण तथा वास्तविक विपन्न नागरिकसम्म सेवा पहुँच सुनिश्चित गर्ने कार्य भइरहेको जनाएको छ । बिमा सुविधाको दुरुपयोग रोक्न कानुनी तथा प्राविधिक सुधारका काम अघि बढाइएको छ ।

यद्यपि, अर्बौं रुपैयाँबराबरको दाबी भुक्तानी बाँकी रहँदा स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले आर्थिक दबाब सामना गरिरहेको र कार्यक्रमको दीर्घकालीन स्थायित्वका लागि समयमै भुक्तानी फर्छ्यौट आवश्यक रहेको मन्त्रालयको निष्कर्ष छ ।

 

तपाईको प्रतिक्रिया