काठमाडौं, १३ जेठ २०८३ । भारतको ‘ककरोच जनता पार्टी’का संस्थापक अभिजीत दीपकेले शनिबार एक स्क्रिन रेकर्डिङ सार्वजनिक गर्दै आफ्नो इन्स्टाग्राम अकाउन्ट ह्याक हुनुअघि यस व्यंग्यात्मक समूहका ९४ प्रतिशतभन्दा बढी दर्शक भारतकै रहेको दाबी गरेका छन् ।
उनको यो पोस्ट भारतका केन्द्रीय मन्त्री किरण रिजिजुको अभिव्यक्तिको प्रतिवादका रूपमा आएको हो, जसमा मन्त्रीले पाकिस्तानबाट फलोअर्स खोज्नेहरूप्रति दया लागेको बताएका थिए ।
मन्त्रीले आफ्नो पोस्टमा कसैको नाम प्रत्यक्ष रूपमा उल्लेख नगरे पनि धेरैले ‘ककरोच जनता पार्टी’का अकाउन्टहरू ब्लक गरिएको भनिएको विषयमा चलिरहेको विवादमाथिको टिप्पणीका रूपमा लिएका छन् ।
विगत केही दिनदेखि चर्चामा रहेको ‘ककरोच जनता पार्टी’ भारतका प्रधानन्यायाधीश सूर्यकान्तले देशका केही युवालाई ककरोच (साङ्ला) भनेपछि उत्पन्न विवादको पृष्ठभूमिमा अनलाइन व्यंग्यका रूपमा सुरु गरिएको थियो । व्यंग्यका रूपमा सुरु भएको यस पार्टीले चाँडै नै अनलाइनमा ठूलो समर्थन पाएको छ ।
संस्थापक दीपकेले हालै पार्टीको एक्स अकाउन्ट भारतमा प्रतिबन्ध लगाइएको दाबी गर्दै आफ्नो इन्स्टाग्राम अकाउन्ट तथा वेबसाइटमाथि पनि त्यस्तै कारबाही भएको बताएका छन् । उनले एक्समार्फत पार्टीको इन्स्टाग्राम अकाउन्टसँग सम्बन्धित केही तथ्यांकहरूको स्क्रिन रेकर्डिङ सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको विवरणअनुसार अप्रिल २२ देखि मे २१ सम्म उक्त अकाउन्टमा १।६ अर्ब भ्युज आएका थिए । १२ मिलियन नयाँ फलोअर्स थपिएका थिए ।
उक्त तथ्यांकले प्लेटफर्ममा पार्टीका दर्शकको जनसांखियकीय विवरण पनि देखाएको छ, जसअनुसार ९४.१ प्रतिशत फलोअर्स भारतबाट, एक प्रतिशत अमेरिकाबाट, ०.७ प्रतिशत बेलायतबाट तथा क्यानडा र यूएईबाट क्रमशः ०.६/०.६ प्रतिशत रहेका छन् ।
दीपकेले लेखेका छन्, “९४ प्रतिशतभन्दा बढी दर्शक भारतका हुन् । एक केन्द्रीय मन्त्री किरण रिजिजुले किन भारतीय युवाहरूलाई ‘पाकिस्तानी’ भनेर लेबल लगाइरहेका छन् ?”
उनले स्क्रिन रेकर्डिङमा देखाइएको तथ्यांक इन्स्टाग्राम अकाउन्ट ह्याक हुनुभन्दा अघिको भएको दाबी गरेका छन् ।






