Online Bichar
बुधबार, जेठ १३, २०८३ | Wednesday, May 27, 2026

काठमाडौं, १२ जेठ २०८३ । नेपाल राष्ट्र बैंकले बालुवाटारस्थित बैंकको ब्लक ‘ए’ मा शिशु स्याहार केन्द्र निर्माण गर्ने भएको छ ।

बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्रमार्फत यो निर्माण कार्य अगाडि बढाउन योग्य नेपाली बोलपत्रदाताहरूबाट आवेदन माग गरेको छ ।

मंगलबार देखि असार ३ गते दिउँसो १२ बजेसम्ममा तोकिएको मापदण्डअनुसार आवेदन दिन राष्ट्र बैंकले अनुरोध गरेको छ ।

यस निर्माण कार्यका लागि मूल्य अभिवृद्धि कर (भ्याट) र प्रोभिजनल समसहित कुल ३४ लाख ९४ हजार ४३३ रुपैयाँ ९९ पैसा अनुमानित लागत तोकिएको छ । इच्छुक निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमार्फत विद्युतीय बोलपत्र पेस गर्नुपर्नेछ ।

बोलपत्र कागजात डाउनलोड गर्न बोलपत्रदाताले ३ हजार रुपैयाँ दस्तुर बुझाउनुपर्ने छ । साथै यसको भौचर स्क्यान गरी अपलोड गर्नुपर्ने बैंकले जनाएको छ । उक्त रकम नेपाल राष्ट्र बैंकको बैंकिङ विभागमा रहेको ‘विविध आम्दानी’ खातामा जम्मा गर्नुपर्ने जारी सूचनामा उल्लेख छ ।

बोलपत्र पेस गर्ने अन्तिम मिति २०८३ असार ३ गते दिउँसो १२ बजेसम्म हुने जनाएको छ । यस्तै, बोलपत्र २०८३ असार ३ गते (१७ जुन २०२६) दिउँसो १ बजे खोलिने राष्ट्र बैंकले बताएको छ ।

केन्द्रीय बैंकका अनुसार बोलपत्रदाताले बोलपत्रको साथमा कम्तिमा ९० हजार रुपैयाँ बराबरको बिड सेक्युरिटी (जमानत) पेस गर्नुपर्नेछ । जसको वैधता अवधि बोलपत्र मान्य रहने ९० दिनको अवधिभन्दा थप ३० दिन हुनुपर्नेछ । सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम कालोसूचीमा परेका फर्म, संस्था वा कम्पनीहरू यस बोलपत्र प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।

बैंकले कुनै पनि बोलपत्र स्वीकृत गर्ने वा पूर्ण रूपमा अस्वीकृत गर्ने अधिकार आफूमा सुरक्षित राखेको छ । थप जानकारीका लागि बैंकको आधिकारिक ठेगाना वा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया