Online Bichar
मंगलबार, जेठ १२, २०८३ | Tuesday, May 26, 2026

काठमाडौं, १२ जेठ २०८३ । रुसले युक्रेनको राजधानी किभमा रहेका रक्षा संरचनामाथि लगातार र व्यवस्थित रूपमा आक्रमण गर्ने चेतावनी दिएको छ । रुसले विदेशी नागरिकलाई उक्त सहर खाली गर्न ‘ट्राभल एडभाइजरी’ समेत जारी गरेको छ ।

युक्रेनले रुस नियन्त्रित स्टारोबिल्स्कमा हालसम्मकै सबैभन्दा घातक ड्रोन आक्रमण गर्दा १८ जनाको मृत्यु र ४२ जना घाइते भएका थिए । त्यसपछि रुसी विदेश मन्त्रालयले यस्तो धम्की दिएको हो ।

मन्त्रालयले भनेको छ, “रुसी सशस्त्र बलले किभमा रहेका युक्रेनी रक्षा उद्योगमाथि लगातार र व्यवस्थित आक्रमण सुरु गरिरहेको छ । यसमा विशेष गरी ड्रोनको डिजाइन, निर्माण र प्रोग्रामिङ गरिने संरचना समावेश छन् ।

किभ प्रशासनले यी ड्रोन नेटोका विज्ञको सहयोगमा तैनाथ गरिरहेको छ । यी ड्रोनले सामग्रीको आपूर्ति गर्नुका साथै जासुसी र लक्ष्य निर्धारणसम्बन्धी डाटा उपलब्ध गराउँदै आएका छन् ।

‘विदेशी र स्थानीय बासिन्दाले सहर छाड्नू’
रुसी विदेश मन्त्रालयले विदेशी नागरिकलाई सहर छाड्न आग्रह गर्नुका साथै स्थानीयलाई सैन्य तथा प्रशासनिक पूर्वाधारसम्बन्धी सुविधानजिक नजान भनेको छ ।

रुसी मन्त्रालयका तर्फबाट भनिएको छ, “यी सुविधा किभभरि फैलिएका छन् । हामी विदेशी नागरिक, जसमा कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय संगठनका कर्मचारीहरू समेत सामेल छन्, उनीहरूलाई चाँडो सहर छाड्न आवश्यक रहेको जानकारी गराउँछौँ । हामी युक्रेनी राजधानीका बासिन्दालाई जेलेन्स्की प्रशासनका सैन्य तथा प्रशासनिक संरचनासम्बन्धी सुविधानजिक नजान आग्रह गर्छौं ।”

पछिल्लो समय किभले आफ्नो ड्रोन युद्ध क्षमतालाई निकै विस्तार गरेको छ । युक्रेनले रुसी लक्ष्यहरू, विशेष गरी ऊर्जा पूर्वाधारमाथि सफल आक्रमण गर्दै आएको छ ।

रुसले चार वर्षअघि युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेको थियो । रुसले पूर्वी युक्रेनका चार क्षेत्रमाथि आफ्नो दाबी गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया