काठमाडौं, १० जेठ २०८३ । पाकिस्तानको क्वेटास्थित एउटा रेलवे ट्र्याकमा शक्तिशाली बम विस्फोटमा परी कम्तीमा २४ जनाको मृत्यु भएको अल अरबियाले जनाएको छ ।
उक्त विस्फोटमा ८२ जनाभन्दा बढी मानिस घाइते भएका सिन्ह्वा समाचार संस्थाले उल्लेख गरेको छ ।
अल जजिराका अनुसार, विस्फोटका कारण एउटा मालवाहक रेल लिकबाट उछिट्टिएको थियो । विस्फोटलगत्तै त्यस क्षेत्रमा गोली हानाहान समेत भएको थियो ।
पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त ब्लुचिस्तानमा सैन्य कर्मचारी सवार रेललक्षित आइतबार विस्फोट गराइएको जनाइएको छ ।
प्रहरीका अनुसार, विस्फोटका कारण एउटा रेलमा आंशिक क्षति पुगेको छ । घटनास्थलनजिक पार्किङ गरी राखिएका १० सवारीसाधन पनि क्षतिग्रस्त भएका छन् ।
जियो न्युजका अनुसार, विस्फोटको तीव्र धक्काका कारण आसपासका भवनका झ्याल तथा सिसाका प्यानल फुटेका छन् ।






