काठमाडौं, ९ जेठ २०८३ । अमेरिकाले नयाँ अध्यागमन नीति घोषणा गर्दै अब ग्रीन कार्ड अर्थात् स्थायी बसोबास अनुमतिपत्र लिन चाहने अधिकांश आप्रवासीले उक्त देश छाड्नुपर्ने र विदेशस्थित अमेरिकी दूतावास वा वाणिज्य दूतावासमार्फत आवेदन दिनुपर्ने व्यवस्था गरेको बीबीसीले जनाएको छ ।
अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले शुक्रबार जारी गरेको सूचनामा असाधारण परिस्थितिबाहेक आफ्नो अध्यागमन स्थिति परिवर्तन गर्न चाहने व्यक्तिहरूले देशबाहिरबाट कन्सुलर प्रक्रियामार्फत आवेदन दिनुपर्ने उल्लेख छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अवैध आप्रवासन नियन्त्रण गर्ने अभियानअन्तर्गत चालिएको यो कदमले भिसावाहक तथा आगन्तुकलाई अमेरिकामै रहँदा ग्रीन कार्डका निम्ति आवेदन दिन अनुमति दिने कानुनी छिद्र बन्द गरेको छ ।
पुरानो प्रणालीले लामो आवेदन प्रक्रियाका क्रममा परिवारलाई सँगै बस्न सहज बनाउँदै आएको थियो । तर, नयाँ नीतिका कारण ग्रीन कार्डको आशामा अमेरिका छाड्ने केही आप्रवासीका निम्ति पुनः त्यहाँ फर्कन गाह्रो वा असम्भव हुन सक्ने चिन्ता व्यक्त गरिएको छ ।
अमेरिकी नागरिकता तथा आप्रवासन सेवाको नीतिसम्बन्धी मेमोअनुसार, अब विद्यार्थी, अस्थायी कामदार वा पर्यटक भिसामा रहेका व्यक्तिहरूले अमेरिकाबाहिरबाट अमेरिकी विदेश मन्त्रालयमार्फत प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।
अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले यो प्रणालीलाई थप निष्पक्ष र प्रभावकारी बनाउने दाबी गर्दै भनेको छ, “जब विदेशीहरूले आफ्नै देशबाट आवेदन दिन्छन्, यसले आवेदन अस्वीकृत भएपछि लुकेर बस्ने र अवैध रूपमा अमेरिकामै रहने व्यक्तिहरूलाई खोजी गरी देशनिकाला गर्नुपर्ने आवश्यकतालाई कम गर्छ ।”
अमेरिकी नागरिकता तथा आप्रवासन सेवालाई निगरानी गर्ने गृह सुरक्षा विभागले सामाजिक सञ्जाल एक्समा लेखेको छ, “हाम्रो देशको अध्यागमन प्रणालीको दुरुपयोग गर्ने युग अब समाप्त भएको छ ।”
अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका प्रवक्ता ज्याक काहलरले भने, “हामी विदेशीहरूले हाम्रो अध्यागमन प्रणालीलाई सही रूपमा पालना गरून् भन्ने सुनिश्चित गर्न कानुनको मूल उद्देश्यतर्फ फर्किरहेका छौँ । अबदेखि अस्थायी रूपमा अमेरिकामा रहेका र ग्रीन कार्ड चाहने विदेशीहरूले असाधारण परिस्थितिबाहेक आफ्नै देश फर्किएर आवेदन दिनुपर्नेछ ।”
हाल विचाराधीन अवस्थामा रहेका ग्रीन कार्ड आवेदनहरू भने यो नीतिबाट प्रभावित हुने वा नहुनेबारे स्पष्ट जानकारी दिइएको छैन ।
अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका एक प्रवक्ताले आर्थिक लाभ पुर्याउने वा राष्ट्रिय हितसँग सम्बन्धित आवेदन दिने व्यक्तिहरूले सम्भवतः हालकै प्रक्रियामार्फत अगाडि बढ्न सक्ने बताएका छन् ।
उनले थपे, “अरू व्यक्तिहरूलाई भने उनीहरूको व्यक्तिगत परिस्थिति मूल्यांकन गरेर विदेशबाट आवेदन दिन भनिन सक्छ ।”
ग्रीन कार्ड प्राप्त गर्ने प्रक्रिया बहुचरणीय हुने र त्यसमा महिनौँदेखि कैयौँ वर्षसम्म लाग्न सक्नेछ ।
ट्रम्प प्रशासनले हालसम्म करिब ४० देशका नागरिकमाथि प्रतिबन्ध वा कडा नियम लागु गरिसकेको छ ।
यो वर्ष प्रशासनले ल्याएको अर्को नीतिअनुसार ७५ देशका आप्रवासी भिसा आवेदकलाई भिसा जारी गर्ने प्रक्रिया पनि रोकिएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार, अमेरिकी भिसाको म्याद सकिएपछि पनि देशमा बसिरहनुले देशनिकाला, भविष्यमा भिसाका निम्ति अयोग्य र १० वर्षसम्म पुनः प्रवेशमा प्रतिबन्ध निम्त्याउन सक्छ ।






