Online Bichar
शनिबार, जेठ ०९, २०८३ | Saturday, May 23, 2026

काठमाडौं, ८ जेठ २०८३ । क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि अभावले देशभरका अस्पतालमा उपचार सेवा प्रभावित भएको छ । किमोथेरापीमा प्रयोग हुने जीवरक्षक औषधि ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ हाहाकार भएपछि बिरामीको बिचल्ली भएको चिकित्सकले बताएका छन् ।

वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा.सन्धा चापागाईंले क्यान्सर बिरामीको जीवनरक्षक औषधि अभाव हुँदा देशभरका बिरामीको जीवन संकटमा परेको बताइन् ।

सिस्प्लाटिन र कार्बोप्लाटिन अधिकांश प्रकारका क्यान्सरमा प्रयोग हुने अत्यावश्यक किमोथेरापी औषधि हुन् । नेपालमा यी औषधि स्वदेशमा उत्पादन हुँदैनन्, पूर्ण रूपमा विदेशबाट आयात हुन्छ ।

‘यी औषधि सबै प्रकारका क्यान्सरमा प्रयोग हुन्छन् । यसको विकल्प छैन,’ डा.चापागाईंले भनिन्, ‘क्यान्सर निको पार्ने उद्देश्यले गरिने उपचारमा यी औषधि जीवनरक्षक नै हुन् ।’

वीर अस्पतालमा मात्रै दैनिक ४५ जना बिरामीलाई यी औषधि आवश्यक गर्छ । औषधि नियमित रूपमा उपलब्ध नहुँदा क्यान्सरका बिरामीको रोग तीव्र रूपमा फैलिने चिकित्सक बताउँछन् ।

‘यो वीर अस्पतालको मात्रै समस्या होइन, देशभरका क्यान्सर बिरामी प्रभावित भइरहेका छन्,’ डा. चापागाईं भन्छिन्, ‘समयमै किमोथेरापी नपाउने बिरामीमा क्यान्सर झन् छिटो फैलिन्छ ।’

पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा। अरुण शाही पनि किमोथेरापीमा अत्याधिक प्रयोग हुने औषधिको आपूर्ति समस्याले बिरामीको अवस्था गम्भीर बन्दै गएको बताउँछन् ।

उनी भन्छन्, ‘क्यान्सरका ६० प्रतिशतभन्दा बढी बिरामीलाई यी औषधि आवश्यक पर्छ । अस्पतालमा दुई सातादेखि कार्बोप्लाटिन र सिस्प्लाटिन हाहाकार छ ।’

डा. शाहीले प्लाटिनम समूहका यी औषधि फोक्सो, अण्डासय, पेट, स्तन, ठूलो आन्द्रा तथा सानो आन्द्रासहित विभिन्न प्रकारका क्यान्सर उपचारमा अनिवार्य जस्तै प्रयोग हुने बताए ।

केही हप्ता नपाउने अवस्था रहिरहे रोग बढ्ने र ज्यानसमेत जाने जोखिम हुने उपचारमा संग्लन चिकित्सक बताउँछन् । औषधि अभाव भएपछि बाध्य भएर वैकल्पिक औषधि प्रयोग गर्नुपरेको डा. शाहीले बताए ।

‘क्यान्सरको प्रकार हेरेर अर्को औषधिसँग संयोजन गरेर उपचार गरिरहेका छौं । तर त्यसले कति प्रभावकारी काम गर्छ भन्ने पर्याप्त प्रमाण छैन,’ डा. शाही भन्छन्, ‘केही नगर्नुभन्दा केही गरौं भन्ने अवस्थामा छौं ।’

वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा. रमिला शिल्पकार डंगोलले सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै लेखेकी छन्, ‘नेपालमा अत्यावश्यक क्यान्सर औषधि कार्बोप्लाटिन र सिस्प्लाटिनको अभावले गम्भीर सार्वजनिक स्वास्थ्य संकट निम्त्याएको छ । कतिपय अवस्थामा निको हुन सक्ने क्यान्सरका बिरामीसमेत समयमै उपचार पाउनबाट वञ्चित भइरहेका छन् । यो आपूर्ति समस्या होइन, यो जीवन र मरणको प्रश्न हो ।’

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेका अनुसार यी औषधि क्यान्सर उपचारमा दशकौँदेखि प्रयोग हुँदै आएका सबैभन्दा प्रभावकारी र तुलनात्मक रूपमा सस्ता औषधिमध्ये पर्छन् ।

‘क्यान्सरको किमोथेरापी एउटा मात्रै औषधिबाट हुँदैन, दुई–तीन प्रकारका औषधि मिसाएर दिनुपर्छ,’ उनले भने, ‘त्यसमध्ये प्लाटिनम ग्रुपका औषधि धेरैजसो उपचारमा अनिवार्य जस्तै हुन्छन् । यो औषधि नभई धेरै क्यान्सरको उपचार पूर्ण हुन सक्दैन ।’

चालिसेका अनुसार ‘सिस्प्लाटिन’ र ‘कार्बोप्लाटिन’ करिब पाँच दशकदेखि प्रयोगमा रहेका पुराना तर अत्यन्त प्रभावकारी औषधि हुन् । पुरानो प्रविधिमा आधारित भएकाले यी औषधि तुलनात्मक रूपमा सस्ता छन् ।

भक्तपुर क्यान्सर अस्पतालमा दैनिक ८० जनासम्म बिरामीले किमोथेरापी सेवा लिन्छन् । तीमध्ये ५० जनालाई प्लाटिनम समूहका औषधि आवश्यक पर्ने चालिसेले बताए ।

उनका अनुसार औषधि अभावको प्रत्यक्ष असर उपचारमै पर्नेछ । ‘यो औषधि नपाएपछि उपचार नै रोकिन्छ,’ डा। चालिसे भन्छन्, ‘त्यसपछि कालोबजारी, अनधिकृत आयात र ठगीको जोखिम बढ्छ । बिरामीका परिवार जसरी पनि औषधि खोज्न बाध्य हुन्छन् ।’

यी औषधिको मूल्य अन्य क्यान्सर औषधिको तुलनामा निकै कम रहेको चिकित्सकहरू बताउँछन् । ‘सिस्प्लाटिन’को मूल्य मात्राअनुसार केही सयदेखि डेढ हजार रुपैयाँसम्म पर्ने र ‘कार्बोप्लाटिन’ दुई–चार हजार रुपैयाँसम्म पाइने चालिसेले बताए ।

‘सस्तो भए पनि यसको प्रभावकारिता उच्च छ,’ उनले भने, ‘त्यसैले यो औषधि अभावले क्यान्सर उपचार प्रणालीमै गम्भीर असर पर्न सक्छ ।’

किन रोकियो आयात ?

औषधि आयातकर्ता खाडीको द्वन्द्व, कच्चा पदार्थको मूल्यवृद्धि र उत्पादन लागत बढेका कारण औषधि आपूर्तिमा समस्या भएको बताउँछन् । औषधि उत्पादनमा प्रयोग हुने प्लाटिनियमको अन्तर्राष्ट्रिय मूल्य बढेपछि उत्पादक कम्पनीहरूले उत्पादन लागत बढेको भन्दै मूल्य समायोजन गर्न खोजेका छन् । भारतमा पनि कच्चापदार्थको मूल्य बढेसँगै उत्पादकले औषधि उत्पादन छोडेका छन् ।

त्यसैको असर नेपालमा पनि परेको हो । तर नेपालका आयतकर्ता भने २०७२ सालदेखि सरकारी मूल्य नियन्त्रण सूचीमा परेकाले मूल्य बढाउन नपाएको र त्यसकै कारण आयात तथा आपूर्ति प्रभावित भएको दाबी गर्छन् ।

औषधि आयातकर्ता संघले त्यसको मुख्य कारण सरकारी मूल्य नियन्त्रण नीति भएको दाबी गरेको छ ।

संघका अध्यक्ष पवन आचार्यले क्यान्सर उपचारमा प्रयोग हुने ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ लगायत प्लाटिनम समूहका औषधि आयातमा समस्या देखिएको स्वीकार गर्दै २०७२ सालयता मूल्य समायोजन नभएको कारण आयात प्रभावित भएको बताए ।

उनका अनुसार सरकारले २०७२ सालमा ९६ प्रकारका औषधिको मूल्य समायोजन गरेको थियो । तर त्यसयता ११ वर्षसम्म मूल्य पुनः समायोजन नगरिँदा अहिले आयातकर्ताले ठूलो दबाब झेल्नुपरेको छ ।

‘प्लाटिनम समूहका औषधि उत्पादन गर्दा सिल्भर लगायतका कच्चा पदार्थ प्रयोग हुन्छन् । अन्तर्राष्ट्रिय बजारमा ती सामग्रीको मूल्य अत्यधिक बढेको छ,’ आचार्यले भने, ‘२०७२ सालको तुलनामा अहिले सिल्भरको मूल्य चार गुणासम्म बढिसकेको अवस्था छ ।’

नेपालमा औषधिको मूल्य निर्धारण गर्दा भारतको मूल्यलाई आधार बनाइएको स्मरण गराउँदै भारतले हरेक वर्ष मूल्य समायोजन गरिरहे पनि नेपालमा भने त्यसो हुन नसकेको आचार्यले बताए ।

‘भारतमा उत्पादन हुने औषधिको त्यहाँको मूल्यभन्दा सस्तोमा नेपालमा बेच्नुपर्ने अवस्था बनाइएको छ,’ उनले भने, ‘भारतले हरेक वर्ष मूल्य समायोजन गर्छ, तर नेपाल सरकारले ११ वर्षसम्म त्यो प्रक्रिया अघि बढाउन सकेन ।’

आचार्यले मूल्य समायोजन गर्दा आलोचना खेप्नुपर्ने डरका कारण सरकारी निकाय निर्णय लिनबाट पछि हटेको आरोप पनि लगाए ।

‘औषधि उपलब्ध गराउनेभन्दा पनि मूल्य बढायो भनेर आलोचना होला भन्ने मानसिकताले समस्या जटिल बनाइएको हो,’ उनले भने ।

देशभर औषधिको हाहाकार भएपछि शुक्रबार स्वास्थ्य मन्त्रालयमा छलफल भइरहेको छ ।

औषधि व्यवस्था विभागका सूचना अधिकारी किरणसुन्दर बज्राचार्यले विभागमा औषधि अभावबारे गुनासो आएको स्वीकार गर्दै समाधानका लागि पहल भइरहेको जानकारी दिए ।

बज्राचार्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा औषधिको मूल्य बढे पनि नेपालमा सरकारी रूपमा तोकिएको मूल्य समायोजन नभएकाले आयातकर्ताले औषधि ल्याउन सकेका छैनन् ।

‘नेपालमा राजपत्रमा प्रकाशित मूल्य पुरानै छ, तर विश्व बजारमा मूल्य बढिसकेको छ,’ बज्राचार्य भन्छन्, ‘त्यही कारण आयातकर्ताले औषधि ल्याउन सकेका छैनन् । मूल्य समायोजनका लागि विभागले स्वास्थ्य मन्त्रालयमा पत्राचार गरिसकेको छ ।’अनलाइनखबरबाट 

तपाईको प्रतिक्रिया