Online Bichar
बिहिबार, जेठ ०७, २०८३ | Thursday, May 21, 2026

काठमाडौं, ७ जेठ २०८३ । ब्रिटेनको लेबर पार्टी नेतृत्वको सरकारले यति बेला आन्तरिक राजनीतिक तनावको सामना गरिरहेको छ । हालै सम्पन्न स्थानीय चुनावमा लेबर पार्टीको प्रदर्शन कमजोर रहेपछि पार्टीभित्र असन्तुष्टि बढेको छ ।

पार्टीका केही सांसदले प्रधानमन्त्री किएर स्टार्मरलाई राजीनामा दिन आग्रह गरेका छन् । योसँगै सरकार गठनको दुई वर्षमै लेबर पार्टीले प्रधानमन्त्री परिवर्तन गर्न सक्ने सम्भावना बढेको छ । प्रधानमन्त्री स्टार्मरको पद धरापमा परेको देखिएको छ ।

पूर्वमन्त्री वेस स्ट्रिटिङ र ग्रेटर म्यानचेस्टरका मेयर एन्डी बर्नह्याम दुवैजना स्टार्मरको नेतृत्वलाई चुनौती दिने तयारीमा छन् । गएको साता वेस स्ट्रिटिङले स्वास्थ्यमन्त्री पदबाट राजीनामा दिँदै आफूलाई स्टार्मर प्रशासनप्रति अब विश्वास नरहेको बताएका थिए ।

यही आन्तरिक खिचातानीबीच स्ट्रिटिङले ‘ब्रेक्जिट’जस्तो संवेदनशील मुद्दा पुनः उठाएका छन् । उनले भविष्यमा ब्रिटेन फेरि युरोपेली युनियन (ईयू)मा सामेल हुन सक्ने सम्भावना रहेको बताएका छन् ।

आइतबार आयोजित एक सम्मेलनमा स्ट्रिटिङले भने, “हामीलाई युरोपेली युनियनसँग नयाँ विशेष सम्बन्धको आवश्यकता छ । ब्रिटेनको भविष्य युरोपसँग जोडिएको छ र एक दिन हामी फेरि युरोपेली युनियनमा फर्कन सक्छौँ । म आफ्नो काममा केन्द्रित छु, जसको उद्देश्य ब्रिटेनलाई युरोपेली युनियनसँग अझ नजिक ल्याउनु हो ।”

ब्रेक्जिटबारे उनले थपे, “म धेरै वर्षपछि के हुन्छ भन्ने विवादमा अहिले अल्झन चाहन्नँ ।”

ईयूसँग ब्रिटेनको सम्बन्ध लामो समयदेखि विवादित विषय रहँदै आएको छ । करिब १० वर्षअघि भएको जनमतसंग्रहमा अत्यन्त कम मतान्तरले युरोपेली युनियन छाड्ने निर्णय भएको थियो ।

सन् २०२० मा ब्रिटेनले औपचारिक रूपमा ईयूबाट अलग हुने प्रक्रिया पूरा गरेको थियो । त्यसयता यो विषयमा धेरै कम प्रमुख नेताले मात्र खुलेर टिप्पणी गरेका छन् । त्यति बेलाको राजनीतिक अस्थिरता र गहिरो मतभेदलाई मानिसले अझै सम्झिरहेका छन् । यसै महिनाको कमजोर चुनावी प्रदर्शनपछि उत्पन्न राजनीतिक उथलपुथलबीच ब्रेक्जिटको मुद्दा पुनः चर्चामा आएको हो ।

एन्डी बर्नह्याम पनि मेकरफिल्ड उपचुनाव लड्ने दौडमा छन् । यसले उनलाई स्टार्मरको सम्भावित उत्तराधिकारीका रूपमा उभिने अवसर दिन सक्छ । यसनिम्ति उनले ब्रेक्जिट समर्थक तथा आप्रवासनविरोधी पार्टी रिफर्म यूकेलाई पराजित गर्नुपर्नेछ ।

रिफर्म यूकेका नेता तथा ब्रेक्जिट अभियानका प्रमुख अनुहारमध्ये एक नाइजेल फराजले मतदातालाई चेतावनी दिँदै लेबर पार्टीलाई मत दिए ब्रिटेन फेरि युरोपेली युनियनको नजिक जाने जिकिर गरेका छन् ।

यो बहसपछि एन्डी बर्नह्यामले वेस स्ट्रिटिङको अभिव्यक्तिबाट आफूलाई अलग देखाउने प्रयास गरेका छन् । उनले भविष्यमा ईयूमा पुनः फर्कने सम्भावना अस्वीकार गरेका छैनन् । तर, आफू मेकरफिल्ड उपचुनावमा उमेदवार बने ब्रेक्जिटलाई चुनावी मुद्दा नबनाउने स्पष्ट पारेका छन् ।

उनले सोमबारको भाषणमा भने, “मेरो विचारमा ब्रेक्जिट हानिकारक थियो । तर, अहिले यो विषयमा बहस गर्ने सही समय होइन ।”

अर्कोतर्फ, स्टार्मरले उपचुनावका निम्ति लेबर पार्टीबाट चयन हुने जोसुकै उमेदवारलाई आफ्नो पूर्ण समर्थन रहने बताएका छन् ।

द टाइम्स अखबारको रिपोर्टअनुसार, बर्नह्याम समर्थकले वेस स्ट्रिटिङको ब्रेक्जिटसम्बन्धी अभिव्यक्तिलाई पार्टीको अभियान कमजोर बनाउने वा विषयान्तर गराउने प्रयासका रूपमा बुझेका छन् ।

सन् २०१६ मा मेकरफिल्डका अधिकांश मतदाताले ब्रेक्जिटका पक्षमा मतदान गरेका थिए ।

उपप्रधानमन्त्री डेभिड ल्यामीले भने युरोपेली युनियनमा पुनः सामेल हुने विषयमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् । उनले स्ट्रिटिङ अब सरकारको हिस्सा नरहेकाले व्यक्तिगत धारणा व्यक्त गर्न स्वतन्त्र रहेको तर त्यो सरकारको आधिकारिक भनाइ नभएको बताएका छन् ।

मुख्य विपक्षी कन्जर्भेटिभ पार्टीकी नेत्री केमी ब्याडेनोचले लेबर पार्टीभित्रको यो विवादले सत्तारूढसँग देशका निम्ति कुनै स्पष्ट योजना नरहेको देखाएको टिप्पणी गरेकी छन् ।

स्ट्रिटिङ र एन्डी बर्नह्याम दुवैले लेबर पार्टीको नेतृत्वका निम्ति औपचारिक उमेदवारी घोषणा गरिसकेका छैनन् । नेतृत्वको दौडमा उत्रन कम्तीमा ८१ लेबर सांसदको समर्थन आवश्यक पर्नेछ ।

यसैबीच, चार कनिष्ठ मन्त्रीले राजीनामा दिइसकेका छन् । धेरै सांसदले स्टार्मरको पदत्यागको माग गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया