Online Bichar
बुधबार, जेठ ०६, २०८३ | Wednesday, May 20, 2026

काठमाडौं, ५ जेठ २०८३ । अमेरिकाले पुनः एकपटक समुद्रमा रोकिएको रुसी तेल खरिदमाथि लगाइएको प्रतिबन्धमा ३० दिनको छुट दिएको छ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण ऊर्जा संकटसँग जुधिरहेका देशहरूका लागि यस निर्णयलाई ठूलो राहतका रूपमा हेरिएको छ ।

अमेरिकी वित्त विभागले सोमबार रुसी तेल खरिदमा अस्थायी रूपमा ३० दिनको छुट दिने निर्णय गरेको हो । अमेरिकाको यस कदमले विभिन्न देशहरूलाई हाल समुद्रमा रोकिएको रुसी तेलसम्म पहुँच पाउने सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

विश्वव्यापी ऊर्जा बजारलाई स्थिर बनाउने तथा ऊर्जा–असुरक्षित देशहरूमा तेल आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले यो निर्णय गरिएको अमेरिकाले जनाएको छ ।

अमेरिकी अर्थ मन्त्री स्कट बेसेन्टले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मार्फत यसबारे जानकारी दिएका हुन् । उनले रुसी तेल खरिदमा दिइएको यो म्याद थपले बजारलाई ‘अतिरिक्त लचकता’ प्रदान गर्ने बताएका छन् ।

अमेरिकी वित्त विभागले आवश्यकताअनुसार विभिन्न देशहरूलाई विशेष लाइसेन्स उपलब्ध गराउन काम गर्ने पनि जनाएको छ ।

यस सामान्य लाइसेन्सको उद्देश्य कच्चा तेलको बजारलाई स्थिर बनाउनु तथा ऊर्जा संककटबाट सबैभन्दा बढी प्रभावित देशहरूसम्म तेल आपूर्ति सुनिश्चित गर्नु रहेको बताइएको छ ।

यो घोषणा यसअघि जारी गरिएको ३० दिने छुटको अवधि समाप्त भएपछि आएको हो । समुद्रमा रोकिएको रुसी तेलका लागि यसअघि दिइएको छुट मे १६ मा समाप्त भएको थियो ।
पश्चिम एसियामा द्वन्द्व सुरु भएयता यो तेस्रोपटक उक्त छुटको म्याद थप गरिएको हो ।

पश्चिम एसियासँग सम्बन्धित पछिल्ला घटनाक्रमका कारण ऊर्जा बजारमा निरन्तर अस्थिरता देखिएको छ, जसले विश्वव्यापी ऊर्जा आपूर्ति सञ्जालमा अवरोध आउन सक्ने चिन्ता बढाएको छ । रोयटर्स

 

तपाईको प्रतिक्रिया