४ जेठ २०८३ । विश्व स्वास्थ्य संगठनले कंगो र छिमेकी युगाण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकालल घोषणा गरेको छ। दुर्लभ भाइरसका कारण फैलिएको यस प्रकोपमा हालसम्म ३०० भन्दा बढी शङ्कास्पद सङ्क्रमण र ८८ जनाको मृत्यु भइसकेको जनाइएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार, यो प्रकोप हालको अवस्थामा कोरोना महामारीजस्तो विश्वव्यापी महामारीको स्तरमा नपुगेको भए पनि अन्तर्राष्ट्रिय फैलावटको जोखिम बढ्दै गएको छ । संगठनले देशहरूलाई अन्तर्राष्ट्रिय सीमा बन्द नगर्न पनि आग्रह गरेको छ ।
संगठनले कगोको राजधानी किन्शासामा समेत प्रयोगशालाबाट पुष्टि भएको इबोला सङ्क्रमण भेटिएको जनाएको छ। किन्सासा, प्रकोपको केन्द्र मानिएको पूर्वी इतुरी प्रान्तबाट करिब एक हजार किलोमिटर टाढा पर्छ । सङ्क्रमित व्यक्ति इतुरीबाट यात्रा गरेर आएको बताइएको छ।
उत्तरी किभु प्रान्तमा पनि शङ्कास्पद बिरामीहरू फेला परेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। उक्त क्षेत्र कगोको अत्यधिक जनसङ्ख्या भएको क्षेत्रमध्ये एक हो र इतुरीसँग सीमा जोडिएको छ।
पूर्वी कगोको सबैभन्दा ठूलो शहर गोमामा पनि पहिलो इबोला सङ्क्रमण पुष्टि भएको स्थानीय प्रशासनले जनाएको छ । सङ्क्रमित व्यक्ति इतुरीबाट आएको र हाल आइसोलेसनमा राखिएको बताइएको छ।
गोमा शहर सन् २०२५ मा विद्रोही समूहहरूको तीव्र आक्रमणको केन्द्र बनेको थियो। कंगो सरकार र रुवाण्डा समर्थित एम–२३ विद्रोही समूहबीचको द्वन्द्वका कारण लाखौँ मानिस विस्थापित भएका छन्।
इबोला अत्यन्त सङ्क्रामक रोग मानिन्छ। सङ्क्रमित व्यक्तिको रगत, बान्ता, वीर्य तथा अन्य शारीरिक तरल पदार्थमार्फत यो भाइरस सर्छ । यो रोग दुर्लभ भए पनि गम्भीर र प्रायः घातक हुने चिकित्सकहरूले बताएका छन्।
विश्व स्वास्थ्य संगठनको आपत्काल घोषणाले अन्तर्राष्ट्रिय सहायता निकाय र विभिन्न देशहरूलाई तत्काल सहयोग र समन्वयका लागि दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ।





