काठमाडौं, ४ जेठ २०८३ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको गिरावट जारी छ । सोमबार, मे १८ मा भारतीय रुपैयाँ करिब ०.३ प्रतिशतले घटेर इतिहासकै सबैभन्दा तल्लो स्तरमा पुगेको छ । सोमबार एक अमेरिकी डलरको तुलनामा रुपैयाँको मूल्य ९६.२२ रुपैयाँसम्म पुगेका छ ।
यसअघि रुपैयाँको सबैभन्दा तल्लो स्तर ९६.१३ रुपैयाँ थियो । पछिल्ला पाँच कारोबार सत्रदेखि रुपैयाँमा लगातार गिरावट दर्ता भइरहेको रोयटर्सले जनाएको छ । सन् २०२६ मा भारतीय रुपैयाँ एसियाकै सबैभन्दा खराब प्रदर्शन गर्ने मुद्रा बनेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
इरान युद्धले यस गिरावटमा ठूलो भूमिका खेलेको बताइएको छ । रिपोर्टहरूका अनुसार, यो द्वन्द्व सुरु भएयता भारतीय रुपैयाँ ५ प्रतिशतभन्दा बढीले कमजोर भएको छ । यसको एउटा कारण कच्चा तेलको बढ्दो मूल्य पनि हो, जसका कारण आयात खर्च बढिरहेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आयातमा नियन्त्रण गर्न विदेशी मुद्रामा कम खर्च गर्न अपिल गरेका छन् । यसमा सुनको खरिद कम गर्ने र एक वर्षसम्म विदेश भ्रमणमा कमी ल्याउने जस्ता उपायहरू सामेल छन् । यसका बाबजुद पनि रुपैयाँमाथि दबाब लगातार बनिरहेको छ ।





