Online Bichar
मंगलबार, जेठ ०५, २०८३ | Tuesday, May 19, 2026

काठमाडौं, ४ जेठ २०८३ । परराष्ट्र मन्त्रालयले इरानको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा भएको भन्दै यसअघि जारी गरिएको वक्तव्यप्रति माफी मागेको छ। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै झा अझै इरानमै थुनामा रहेको स्पष्ट पारेको हो।

मन्त्रालयका अनुसार अमृत झालाई जनवरी २०२६ को सुरुमा इरानको केश्म आइल्यान्डबाट अवैध सामान तस्करी तथा ओसारपसारको आरोपमा अन्य ६ विदेशी नागरिकसँगै इरानी सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका थिए। हालः उनी बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा छन्।

परराष्ट्रले १५ अप्रिल २०२६ मा इरानका लागि नेपाली अनररी कन्सल शाहराम शान्तियाइले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई अमृत झा रिहा भएको अनौपचारिक जानकारी पठाएको र सोही सूचनाका आधारमा मन्त्रालयले झा रिहा भएको वक्तव्य आएको परराष्ट्रले विज्ञप्ति जारी गरेर भनेको छ। त्यसपछि परराष्ट्रमन्त्री शिशिर खनालले पनि सामाजिक सञ्जालमार्फत उक्त विषय सार्वजनिक गरेका थिए।

तर, केही दिनपछि प्राप्त जानकारीअनुसार झा रिहा नभएको र अदालतले मुद्दासम्बन्धी ‘एक्सपर्ट रिपोर्ट’ तयार गर्न आदेश दिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यस विषयमा झाका परिवारलाई पनि सबै तथ्य जानकारी गराइसकिएको छ।

मन्त्रालयले झा रिहा भएको अनौपचारिक सूचना सार्वजनिक हुँदा उत्पन्न अन्योल र असुविधाप्रति क्षमा प्रार्थी रहेको जनाएको छ। हालः विज्ञ टोलीले ‘एक्सपर्ट रिपोर्ट’ तयार गरी अदालतमा बुझाउने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ। इरानको स्थानीय अदालतमा विचाराधीन मुद्दाको फैसला त्यहीँको कानुनअनुसार हुने भएकाले उपलब्ध सबै कूटनीतिक माध्यम प्रयोग गरी झाको निष्पक्ष सुनुवाइका लागि पहल भइरहेको मन्त्रालयको भनाइ छ।

तपाईको प्रतिक्रिया