Online Bichar
आइतबार, जेठ ०३, २०८३ | Sunday, May 17, 2026

काठमाडौं, ३ जेठ २०८३ । चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा समग्रमा ५.७ प्रतिशत मात्रै बढेको छ ।

अर्थात् गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म आउँदा ३ खर्ब ११ अर्ब ९५ करोड रुपैयाँ मात्रै थप कर्जा प्रवाह हुन सक्यो । चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कुल कर्जा रकम ५८ खर्ब ९ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।

यसरी प्रवाह भएको कर्जामध्ये क्षेत्रगत रुपमा हेर्दा ट्रस्ट रिसिप्ट अर्थात् आयात प्रकृतिको क्षेत्रमा सबैभन्दा उच्च दरले कर्जा वृद्धि भएको छ । सामान आयातमा आयातकर्ता तथा व्यापारीलाई बैंक तथा वित्तीय संस्थाले ती सामान बिक्री गर्दासम्मका लागि दिने अल्पकालीन कर्जा नै ट्रस्ट रिसिप्ट लोन हो ।

असार मसान्तको तुलनामा चैत मसान्तसम्म आउँदा यस्तो कर्जा ३२ प्रतिशतले बढेर १ खर्ब ६५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म यस्तो कर्जा १ खर्ब २५ अर्ब १८ करोड थियो । समग्रमा आयात बढ्दा पनि यस्तो कर्जा बढेको हो ।

त्यस्तै घरजग्गा क्षेत्रमा प्रवाह भएको कर्जाको वृद्धि भने ऋणात्मक भएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा चैत मसान्तसम्म आउँदा घरजग्गा (रियल इस्टेट) कर्जा वृद्धि ३.५ प्रतिशतले ऋणात्मक भएको हो ।

चैत मसान्तसम्म यस क्षेत्रमा गएको कुल कर्जा रकम २ खर्ब ६६ अर्ब ३७ करोड रुपैयाँ छ । जबकि गत असार मसान्तसम्म यस्तो कर्जा २ खर्ब ७५ अर्ब ९५ करोड रुपैयाँ थियो।

यद्यपि ३ करोड रुपैयाँसम्मको आवासीय घरकर्जा भने बढेको छ । यस्तो कर्जा चैत मसान्तसम्म ४ खर्ब ५८ अर्ब ७५ करोड रुपैयाँ प्रवाह भएको छ । जबकि असार मसान्तसम्म ४ खर्ब १७ अर्ब ५६ करोड रुपैयाँ प्रवाह भएको थियो ।

पछिल्लो समय घरजग्गाको कारोबारसँगै मूल्य प्रभावित हुँदा घरजग्गा क्षेत्रको कर्जा घटेको छ । तर आवासीय कर्जाको सीमा बारम्बार बढाइँदै गएकाले पनि यो क्षेत्रको कर्जा बढेको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नै २ करोडबाट यो कर्जाको सीमा ३ करोड पुर्‍याइएको हो ।

तपाईको प्रतिक्रिया