काठमाडौं, ३१ वैशाख २०८३ । भारत सरकारले बुधबारदेखि तत्काल लागु हुने गरी चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ । निर्यातमा लगाइएको यो रोक आगामी सेप्टेम्बर ३० सम्म वा अर्को आदेश नभएसम्म कायम रहने एनडीटीभीले जनाएको छ ।
देशमा चिनीको उपलब्धता सुनिश्चित गर्न तथा मूल्य नियन्त्रणमा राख्न सरकारले यो कदम चालेको हो । वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले जारी गरेको सूचनाअनुसार यो प्रतिबन्ध कच्चा, सेतो तथा प्रशोधित चिनीमा लागु हुनेछ । सरकारले चिनीलाई ‘निषेधित’ श्रेणीमा राखेको छ ।
यद्यपि, यो प्रतिबन्ध युरोपेली संघ र अमेरिकामा निश्चित कोटाअन्तर्गत गरिने निर्यातमा भने लागु नहुने बताइएको छ ।
भारतको यो निर्णयले विश्व बजारमा सेतो तथा कच्चा चिनीको मूल्य बढ्ने समाचार संस्था रोयटर्सले जनाएको छ । भारत ब्राजिलपछि विश्वकै दोस्रो ठूलो चिनी निर्यात गर्ने देश हो । भारतले निर्यात रोकेपछि ब्राजिल र थाइल्यान्डजस्ता प्रतिस्पर्धी उत्पादकहरूले एसियाली तथा अफ्रिकी बजारमा आफ्नो हिस्सा बढाउने अवसर पाउनेछन् ।
चिनी मिलहरूलाई यसअघि १.५९ मिलियन टन चिनी निर्यात गर्न अनुमति दिइएको थियो । तर, लगातार दोस्रो वर्ष पनि भारतमा उत्पादन खपतभन्दा कम हुने अपेक्षा गरिएको छ ।
मुख्य उखु उत्पादक क्षेत्रहरूमा उब्जनी कमजोर हुनु तथा ‘अल नीनो’का कारण मनसुन प्रभावित हुने जोखिमले आगामी सिजनको उत्पादन अनुमान गरिएभन्दा कम हुनसक्ने देखिएको छ ।
निर्यातका लागि स्वीकृत १.५९ मिलियन टनमध्ये व्यापारीहरूले करिब आठ लाख टनको सम्झौता गरिसकेका थिए । जसमध्ये ६ लाख टनभन्दा बढी चिनी निर्यात भइसकेको बताइएको छ ।
सरकारले प्रतिबन्ध लगाए पनि केही निश्चित सर्तहरू पूरा गरेका देशहरूलाई भने निर्यात अनुमति दिइने बताइएको छ ।






