Online Bichar
आइतबार, बैशाख २७, २०८३ | Sunday, May 10, 2026

काठमाडौं, २७ वैशाख २०८३ । हन्ता भाइरस संक्रमणबाट प्रभावित क्रूज जहाज ‘एमभी होन्डियस’ १४० भन्दा बढी मानिसहरूलाई लिएर पश्चिम अफ्रिकाको तटनजिकै अवस्थित स्पेनको क्यानरी टापु समूहको सबैभन्दा ठूलो टेनेरिफ पुगेको छ ।

यहाँ यात्री र चालक दलका सदस्यहरूलाई जहाजबाट ओरालिएको छ । विश्व स्वास्थ्य संगठन, स्पेनिस प्रशासन र क्रूज कम्पनी ‘ओशनवाइड एक्सपीडिसन’ले हाल जहाजमा रहेका कुनै पनि व्यक्तिमा भाइरसको लक्षण नपाइएको बताएका छन् ।

यो भाइरस संक्रमणका कारण हालसम्म तीनजनाको मृत्यु भइसकेको छ । जहाज छोडिसकेका पाँच यात्रीमा हन्ताभाइरस संक्रमण पुष्टि भएको छ । यो भाइरसले गम्भीर र ज्यान लिने खालको बिमारी निम्त्याउन सक्छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस गेब्रेयेसस, स्पेनका स्वास्थ्यमन्त्री र गृह मन्त्रीले जहाजबाट मानिसहरूलाई सुरक्षित निकाल्ने प्रक्रियाको अनुगमन गरिरहेका छन् । अधिकारीहरूका अनुसार, जहाजबाट ओर्लिने यात्री र चालक दलका सदस्यहरूको स्थानीय बासिन्दासँग कुनै सम्पर्क हुने छैन । उनीहरूलाई गन्तव्यसम्म पुर्‍याउने विशेष उडानहरू तयार भएपछि मात्र जहाजबाट बाहिर निकालिएको छ ।

विश्व स्वास्थ्य संगठनले हन्ताभाइरस फैलिएको उक्त क्रूज जहाजमा सवार सबै व्यक्तिहरूलाई ‘उच्च जोखिम’को सम्पर्क मानिनुपर्ने बताएको छ । त्यसैले उनीहरू सबैको ४२ दिनसम्म लगातार निगरानी गरिनुपर्छ ।

महामारी र रोकथाम विभागकी निर्देशक मारिया भ्यान केरखोभले सञ्चारमाध्यमसँग कुरा गर्दै जहाजमा रहेका हरेक व्यक्तिलाई ’हाई–रिस्क कन्ट्याक्ट’ मानिएको बताइन । हाल कसैमा लक्षण नदेखिए तापनि ४२ दिनसम्मको स्वास्थ्य विश्व स्वास्थ्य संगठनमा जाँच अनिवार्य रहेको उनले बताइन् ।

विश्व स्वास्थ्य संगठनको ‘डिजिज आउटब्रेक न्यूज’ अपडेट अनुसार, यस क्रूज जहाजमा मे २ मा पहिलोपटक गम्भीर श्वासप्रश्वाससम्बन्धी बिमारीको केस देखिएको थियो । त्यस समय जहाजमा १४७ यात्री र कर्मचारी थिए भने ३४ जना पहिले नै ओर्लिसकेका थिए ।

मे ८ सम्म कुल आठजनामा रोगको लक्षण पाइएको छ, जसमध्ये तीनजनाको मृत्यु भइसकेको छ । ६ वटा केसमा जाँचपछि एन्डिज भाइरस हन्ताभाइरस संक्रमणको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले सम्बन्धित देशहरूलाई आपसी समन्वय कायम राख्न र संक्रमितको पहिचान, उपचार तथा संक्रमण रोकथामका उपायहरू अपनाउन आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, यसका सुरुआती लक्षणहरूमा टाउको दुख्ने, रिंगटा लाग्ने, जाडो हुने, ज्वरो आउने, मांसपेसी दुख्ने र पेटसम्बन्धी समस्याहरू, वाकवाकी लाग्ने, बान्ता हुने, झाडापखाला र पेट दुखाइ सामेल छन् ।

 

तपाईको प्रतिक्रिया