Online Bichar
मंगलबार, बैशाख २२, २०८३ | Tuesday, May 5, 2026

काठमाडौं, २२ वैशाख २०८३ । सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम आउँदो जेठ पहिलो सातादेखि फिर्ता गर्ने भएको छ । हालै गठन गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले करिब ७६ हजार बचतकर्ताको विवरण संकलन गरी रकम फिर्ताको प्रक्रिया अघि बढाएको हो।

समितिका अनुसार झन्डै ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने देखिएको छ, जसमा धेरैजसो साना बचतकर्ता रहेका छन्। पाँच लाख रुपैयाँभन्दा बढी बचत गर्ने करिब १८ हजार बचतकर्ता रहेको पनि समितिले जनाएको छ।

सरकारले बचतकर्तालाई साना (५ लाखसम्म) र ठूला (५ लाखभन्दा बढी) गरी वर्गीकरण गरेको छ। साना बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिने बताइएको छ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले बचत फिर्ताका निम्ति धेरै काम भइसकेको बताइन् । अब बचत फिर्ता गर्ने कार्य थालिने उनले जानकारी दिइन् ।

“यसमा धेरै काम गरिसकेका छौँ । साना बचतकर्ताको रकम पहिले फिर्ता गर्छौं,” मन्त्री रावलले भनिन् ।

समितिले आफ्नो कार्यविधि तय गर्दै बचत फिर्ता कार्य आरम्भ र कर्जा असुलीमा प्राथमिकता दिने नीति अवलम्बन गरिने जनाएको छ ।

समितिले मागदाबी गरेका बचतकर्ताको रकम फिर्ता गर्ने कार्य आउँदो जेठको पहिलो सातादेखि थाल्नेछ । छुट भएका बचतकर्तालाई पुनः मागदाबी गर्ने समय साउनको पहिलो हप्ता खुला गरिने समितिले जनाएको छ ।

यसक्रममा नेपाल सरकारबाट चक्रीय कोषमा विनियोजित रकम सम्बन्धित समितिको कोषबाट नपुग भएमा सापटीका रूपमा मात्र खर्च गरिने जनाइएको छ ।

समितिका सदस्यसचिव रविन ढकालले कर्जा असुलीका निम्ति आफूहरूले कानुनबमोजिम कठोर नीति अवलम्बन गर्ने जानकारी दिए ।

तपाईको प्रतिक्रिया