काठमाडौं, २२ वैशाख २०८३ । चीनको मध्य हुनान प्रान्तस्थित एउटा पटाका कारखानामा भएको भीषण विस्फोटमा परी कम्तीमा २१ जनाले ज्यान गुमाएका छन् । ६१ जना घाइते छन् ।
सोमबार स्थानीय समयानुसार दिउँसो ४ः४० बजे चाङ्शा सहरमा विस्फोट भएको चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चाङ्शा पटाका उत्पादनको प्रमुख केन्द्रका रूपमा चिनिन्छ ।
घटनास्थलमा करिब ५०० उद्धारकर्मी परिचालन गरिएको थियो । आसपासका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
थप दुर्घटना हुन नदिन उद्धारकर्मीले पानी छर्कने तथा उक्त क्षेत्रलाई ओसिलो बनाउने विधि अपनाएका थिए । खोज तथा उद्धार कार्यमा सघाउन तीन रोबोट समेत परिचालन गरिएको थियो ।
चिनियाँ राष्ट्रपति सी चिनफिले घटनाको गहन अनुसन्धान गर्न आदेश दिएका छन् । उनले प्रमुख औद्योगिक क्षेत्रमा जोखिम परीक्षण र सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका सिन्ह्वाले जनाएको छ ।
अधिकारीहरूले विस्फोटको कारणबारे अनुसन्धान गरिरहेका छन् ।






