बुटवल, २० वैशाख २०८३ । बुटवलको मोतिपुर क्षेत्रका बासिन्दा डोजर प्रयोग गरेर बस्ती हटाउने तयारीविरुद्ध सडकमा उत्रिएका छन् । मोतिपुर औद्योगिक क्षेत्रको जग्गा खाली गराउन निर्देशन आएपछि स्थानीयमा आक्रोश चुलिएको हो ।
प्रदर्शनमा सहभागीहरूले ‘डोजर आतंक बन्द गर,’ ‘सुकुम्वासी हुनु रहर होइन, बाध्यता होु, ‘सामाजिक सञ्जाल स्टाटस बन्द गर, सुकुम्वासी समस्या समाधान गरु जस्ता नारा लगाएका थिए । उनीहरूले बस्ती हटाउने कार्य अघि बढाउँदा पुनर्वासको ठोस व्यवस्था नगरी गरिएको कदम अन्यायपूर्ण भएको बताएका छन् ।
स्थानीयका अनुसार, अचानक जग्गा खाली गराउन निर्देशन आउँदा उनीहरू असुरक्षित महसुस गरिरहेका छन् । “हामीलाई बस्नको विकल्प नदिई हटाउने काम उचित होइन,” एक प्रदर्शनकारीले भने, “पहिले पुनर्वासको ग्यारेन्टी हुनुपर्छ ।”
प्रदर्शनमा महिला, वृद्ध र युवाहरूको उल्लेख्य उपस्थिति देखिएको थियो । उनीहरूले नीति निर्माणमार्फत दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गरेका छन् । सरकारी पक्षले भने औद्योगिक क्षेत्र विस्तारका लागि अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको जनाएको छ ।






