पोखरा, २० वैशाख २०८३ । सपनामा आफ्नै बाबुलाई मारेको देखेका एक व्यक्तिले साँच्चिकै हत्या गरेका छन् । घटना कास्कीको रुपा गाउँपालिका–४, बागेडाँडाको हो ।
गत बिहीबार (वैशाख १७) साँझ ६:४५ बजे ६२ वर्षका रामबहादुर घर्ती अचेत अवस्थामा भेटिए । स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी पुग्यो ।
घर्ती घाँटीमा गलबन्दी बेरिएको र नाकबाट रगत बगेको अवस्थामा थिए । प्रारम्भिक अनुसन्धानपछि मृतावस्थामा भेटिएका घर्तीको शव पोस्टमार्टमको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाइयो ।
शवको प्रकृतिअनुसार प्रहरीले हत्या भएको हुनसक्ने अनुमानसहित अनुसन्धान अगाडि बढायो । सोही क्रममा शुक्रबार (वैशाख १८) पोखरा महानगरपालिका–११, हस्पिटल चोकबाट ३४ वर्षका भीमबहादुर भुजेल पक्राउ परे ।
भुजेल घर्तीका कान्छा छोरा हुन् । श्रीमतीसँग डिभोर्स भइसकेपछि एक्लै बसेका घर्तीले नै बाबुको हत्या गरेको खुलेको छ ।
कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले भुजेलले नै बाबुको हत्या गरेको बताए ।
प्रहरी नियन्त्रणमा रहेका भुजेलले हत्या गर्नुको कारण भने सपना रहेको बताएका छन् । प्रारम्भिक बयानअनुसार भुजेलले “सपना देखेको, सपनामा कि बाबुले छोरा मार्नुपर्ने, कि छोराले बाबु मार्नुपर्ने भएपछि आफूले बाबुको हत्या गरेको” बताएका छन् ।
भुजेलले बाबुले लगाएको गलबन्दीले नै घाँटीमा कसेर हत्या गरेको खुलेको हो । पोस्टमार्टम रिपोर्टमा पनि घर्तीको निधन निसास्सिएर भएको खुलेको छ ।
आर्थिक अवस्था सामान्य रहेको र यसअघि उनको कुनै आपराधिक रेकर्ड नरहेको प्रहरीले जनाएको छ । उनलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी कसुरअन्तर्गत दफा १७७ को कर्तव्य ज्यानसम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बस्नेतले जानकारी दिए ।






