Online Bichar
आइतबार, बैशाख २०, २०८३ | Sunday, May 3, 2026

काठमाडौं, २० वैशाख २०८३ । चीनले इरानी तेल खरिद गर्ने पाँच चिनियाँ कम्पनीमाथि अमेरिकाले लगाएको प्रतिबन्ध मान्न अस्वीकार गरेको छ । चीनको वाणिज्य मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी कदमको कडा विरोध गरेको हो ।

वाणिज्य मन्त्रालयले प्रतिबन्धले अरू देशसँग सामान्य आर्थिक र व्यापारिक सम्बन्ध राख्ने चिनियाँ कम्पनीको अधिकारलाई कुण्ठित गर्ने तर्क गरेको छ । यसलाई चीनले अन्तर्राष्ट्रिय कानुन र सम्बन्धका आधारभूत सिद्धान्तको विपरीत भनेको छ ।

चिनियाँ सरकारले संयुक्त राष्ट्रसंघको स्वीकृतिबिना र अन्तर्राष्ट्रिय कानुनमा आधारित नभएका कुनै पनि एकपक्षीय प्रतिबन्धलाई मान्यता नदिने स्पष्ट पारेको छ । मन्त्रालयले चिनियाँ कम्पनी र संस्थालाई अमेरिकी प्रतिबन्ध लागु नगर्न निर्देशन दिएको छ ।

हालै मात्र अमेरिकाले एउटा चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो । उक्त कम्पनीले इरानबाट लाखौँ ब्यारेल कच्चा तेल आयात गरेर इरानका निम्ति अर्बौँ डलर आम्दानी जुटाइदिएको अमेरिकाको जिकिर थियो । यद्यपि, चिनियाँ वाणिज्य मन्त्रालयले आफ्नो विज्ञप्तिमा उक्त कम्पनीको नाम खुलाएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै महिना चीन भ्रमणमा जाने र चिनियाँ समकक्षी सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रमबारे चर्चा भइरहेका बेला यस्तो प्रतिबन्ध लगाइएको छ । यो व्यापारिक तनावले दुई देशबीचको उच्चस्तरीय वार्तामा प्रभाव पार्न सक्ने बीबीसी हिन्दीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया