काठमाडौं, १८ वैशाख २०८३ । सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूले अब घडेरी किन्नका लागि १ करोड ५० लाख रूपैयाँसम्म ऋण पाउने भएका छन् । कोषले पहिलो पटक श्रमिक लक्षित घडेरी कर्जा योजना अघि सारेको हो ।
रामजी यादवले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उक्त योजनाबारे जानकारी दिँदै योगदानमा आधारित कोषमा आबद्ध श्रमिकहरूले ६ प्रतिशत ब्याजदरमा नियमानुसार कर्जा लिन सक्ने बताए ।
कोषका प्रवक्ता कृष्ण अधिकारीका अनुसार हाल घर कर्जा, घर निर्माण कर्जा र शैक्षिक कर्जा जस्ता सुविधा दिँदै आएको कोषले अब घडेरी खरिदका लागि पनि कर्जा उपलब्ध गराउने भएको हो । उनका अनुसार श्रमिकले कम्तीमा १८ महिना नियमित रूपमा कोषमा योगदान गरेको हुनुपर्छ । योगदान रकमका आधारमा अधिकतम १ करोड ५० लाख रूपैयाँसम्म ६ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइने व्यवस्था गरिएको छ ।






