काठमाडौं, १५ वैशाख २०८३ । पाकिस्तानले आफ्नो भूमि प्रयोग गरी इरानसम्म सामान पुर्याउन ६ व्यापारिक मार्ग तोकेको पाकिस्तानी अखबार डनले जनाएको छ ।
हाल अमेरिकी नौसेनाको नाकाबन्दीका कारण समुद्रीमार्गबाट इरानसम्म सामान पुर्याउन सम्भव छैन । पाकिस्तानको वाणिज्य मन्त्रालयले यसनिम्ति ‘ट्रान्जिट अफ गुड्स थ्रु टेरिटोरी अफ पाकिस्तान अर्डर २०२६’ जारी गरेको छ ।
कराँची बन्दरगाहमा इरानका निम्ति आएका तीन हजारभन्दा बढी कन्टेनर विगत केही दिनदेखि अड्किएका छन् ।
अमेरिका–इरान द्वन्द्वका कारण होर्मुज जलमार्ग बन्द छ । इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहेकाले तेस्रो मुलुकबाट आएका सामान त्यहाँ पुर्याउन रोकिएको छ ।
फेब्रुअरी २८ मा सुरु भएको अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व हाललाई युद्धविरामका कारण रोकिएको भए पनि समुद्री नाकाबन्दी हटाइएको छैन ।
व्यापारीले पाकिस्तानको भन्सार महसुलबराबरको ‘इनक्यासेबल बैंक ग्यारेन्टी’ बुझाउनुपर्ने हुन्छ । यो रकम सामान सुरक्षित रूपमा इरान पुगेपछि मात्र फुकुवा हुने समाचारमा उल्लेख छ ।
यो व्यवस्थाअन्तर्गत सामान एउटा कन्टेनरबाट अर्कोमा सार्न वा अरू ढुवानीका साधनमा राखेर लैजान अनुमति दिइनेछ । यो निर्णय सन् २००८ मा पाकिस्तान र इरानबीच भएको यात्रु तथा सामान ढुवानीसम्बन्धी सम्झौता’का आधारमा गरिएको हो ।
पाकिस्तानको यो कदमले इरानलाई अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न मद्दत पुग्नेछ । साथै, यसले क्षेत्रीय व्यापारमा पाकिस्तानको भूमिलाई एक महत्त्वपूर्ण ‘ट्रान्जिट हब’का रूपमा स्थापित गर्नेछ । यो आदेश अप्रिल २५ देखि लागु भइसकेको छ ।






