झापा, १५ वैशाख २०८३ । भारतमा अलपत्र अवस्थामा रहेका एक नेपाली नागरिकको उद्धार गरी नेपाल ल्याएर उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मिति २०८३ वैशाख १० गते झापाका प्रहरी उपरीक्षकको मोबाइलमा एक भिडियो प्राप्त भएको थियो। उक्त भिडियोमा झापाको बाहुनडाँगी घर भएका सन्तोष बिक भारतको बनारसस्थित अस्पतालमा बेवारिसे अवस्थामा उपचाररत रहेको जानकारी दिइएको थियो।
सो सूचना प्राप्त भएपछि प्रहरी चौकी बाहुनडाँगीलाई खटाइ तत्काल खोजतलास सुरु गरिएको थियो। करिब ३०–३५ मिनेटमै प्रहरी टोलीले उनको घरपरिवार पत्ता लगाएर आफन्तसँग समन्वय गरेको थियो।
जानकारी अनुसार, झापा मेचीनगर–४ का ५६ वर्षीय सन्तोष बिकलाई अज्ञात व्यक्तिहरूले कुटपिट तथा लुटपाट गरी घाइते बनाएको अवस्थामा स्थानीयले उद्धार गरी बनारसस्थित एसएसपीजी सरकारी अस्पताल पुर्याएका थिए।
पछि आफन्तहरूको पहलमा उनलाई जोगबनी नाका हुँदै विराटनगर ल्याई नोबेल अस्पतालको आईसीयूमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ।






