काठमाडौं, ११ वैशाख २०८३ । जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाको समन्वयमा थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउने तयारी अन्तिम चरणमा पुगेको छ। महानगरले शुक्रबार बिहान ७ बजेदेखि पाँचवटा डोजर प्रयोग गरी बस्ती हटाउने योजना बनाएको जनाएको छ।
काठमाडौं महानगरपालिका नगर प्रहरी बलका अनुसार बस्तीका घरटहरा भत्काएर क्षेत्र खाली गरिनेछ। “जिल्ला प्रशासन र महानगरको समन्वयमा पाँचवटा डोजर तयारी अवस्थामा राखेका छौँ। बिहान ७ बजेदेखि डोजर चलाएर थापाथलीको सुकुम्वासी बस्ती हटाउनेछौँ,” नगर प्रहरी स्रोतले जनाएको छ। उनका अनुसार दुई दिनभित्र सम्पूर्ण संरचना हटाउने लक्ष्य राखिएको छ।
महानगरले पहिलो चरणमा थापाथलीसहित मनोहरा र सिनामंगल–गैरिगाउँ क्षेत्रका बस्तीमा डोजर चलाउने तयारी गरेको छ।
यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमणकारी र वास्तविक सुकुम्वासी छुट्याएर वास्तविक सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेका छन्। बस्ती हटाउने क्रममा कुनै अप्रिय घटना हुन नदिन नेपाल प्रहरीले बिहानैदेखि कडा सुरक्षा व्यवस्था मिलाउने महानगरले जनाएको छ।






