Online Bichar
मंगलबार, बैशाख ०८, २०८३ | Tuesday, April 21, 2026

काठमाडौं, ८ वैशाख २०८३ । प्रतिनिधिसभा नियमावलीमा संसद् बैठककक्षभित्र तोडफोड वा ध्वंसात्मक गतिविधि गरेमा त्यसको क्षतिपूर्ति सम्बन्धित सांसदबाटै भराइने व्यवस्था गरिएको छ।

नियमावलीको नियम ३३ अनुसार बैठकमा सुव्यवस्था कायम राख्ने विशेष अधिकार सभामुखलाई दिइएको छ। सोही नियमको उपनियम ४ मा बैठकमा कुनै सदस्यले आपत्तिजनक वा ध्वंसात्मक व्यवहार गरे वा बैठक कक्षमा भौतिक क्षति पुर्‍याएमा सभामुखले बढीमा १५ दिनसम्म निलम्बन गर्न सक्ने व्यवस्था रहेको छ।

त्यसैगरी, भएको क्षतिको भौतिक सामग्रीको क्षतिपूर्ति सम्बन्धित सांसदबाटै भराउने आदेश दिन सकिने प्रावधान पनि समावेश गरिएको छ।
तर यस्तो निर्णय गर्नुअघि सम्बन्धित सांसदलाई आफ्नो सफाइ पेस गर्ने उचित मौका दिनुपर्ने व्यवस्था पनि नियमावलीमा उल्लेख छ।
यसअघि संसद् बैठकमा कुर्सी भाँच्ने, अवरोध गर्ने तथा तोडफोडका घटनाहरू भएका उदाहरणहरू रहेकाले यस्तो व्यवहार दोहोरिन नदिन नियमावलीमा कडाइ गरिएको बताइएको छ।

सभामुखले बैठकमा शान्ति, सुव्यवस्था र अनुशासन भंग भएमा तत्काल रोक्न आदेश दिन सक्नेछन्। आवश्यक परे मर्यादापालकमार्फत सम्बन्धित सांसदलाई बैठक कक्षबाट निष्काशन गर्न सकिने व्यवस्था पनि नियमावलीमा उल्लेख छ।

तपाईको प्रतिक्रिया