Online Bichar
मंगलबार, बैशाख ०८, २०८३ | Tuesday, April 21, 2026

बुटवल, ८ वैशाख २०८३ । बुटवलस्थित एक क्लिनिकमा उपचारका क्रममा चरम लापरबाही भएको आरोपमा एक गर्भवती महिलाको मृत्यु भएपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

पाल्पाको बगनासकाली गाउँपालिका–२ निवासी ३१ वर्षीया गीता पाण्डेको गर्भपतन गराउने क्रममा स्वास्थ्य अवस्था बिग्रिँदा मृत्यु भएको हो। घटनापछि आक्रोशित आफन्तले पाँच जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दर्ता गराएका छन्। रेडक्रस सोसाइटीकी कर्मचारीसमेत रहेकी पाण्डे करिब १२ हप्ताको गर्भ अस्वस्थ भएपछि श्रीमान्सहित उपचारका लागि बुटवल आएकी थिइन्। चैत २७ गते प्रारम्भिक जाँच गराएकी उनी वैशाख ५ गते फलोअपका लागि खत्री नर्सिङ होम पुगेकी थिइन्। त्यहाँ गर्भपतन गर्नुपर्ने सुझाव दिए पनि सो सेवा उपलब्ध नभएको भन्दै अन्यत्र जान भनिएको थियो।

त्यसपछि उनीहरू हस्पिटल लाइनस्थित जोनल फार्मेसी क्लिनिक पुगेका थिए। त्यहाँ चिकित्सक नभएको भन्दै नजिकैको इन्दुलेखा क्लिनिकमा पठाइएको र सोही क्लिनिकमा औषधि प्रयोग गरेपछि पाण्डेको स्वास्थ्य अवस्था अचानक गम्भीर बनेको बताइएको छ।
अवस्था नियन्त्रण बाहिर गएपछि उनलाई लुम्बिनी सिटी अस्पताल लगिएको थियो। तर अस्पताल पुग्नेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।

पीडित परिवारले एक क्लिनिकबाट अर्कोमा पठाउने, जिम्मेवारी नलिने र असुरक्षित तरिकाले औषधि प्रयोग गर्ने स्वास्थ्यकर्मी तथा क्लिनिक सञ्चालकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्। मृतकका श्रीमान् सरकारी अधिकृत रहेका छन् भने उनका पाँच वर्षका एक सन्तान छन्।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार घटनामा संलग्न रहेको आरोपमा जोनल हेल्थ क्लिनिककी सन्ध्या बस्नेत, जोनल फार्मेसी क्लिनिककी निलम घर्तीमगर र इन्दुलेखा क्लिनिकका खगेन्द्र पाण्डेलाई पक्राउ गरिएको छ।
प्रहरीले अन्य दुई जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गर्ने तयारी गरिरहेको जनाएको छ। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा अनुमति विना वा लापरबाहीपूर्ण ढंगले उपचार गर्ने क्लिनिकहरूमाथि सूक्ष्म अनुसन्धान अघि बढाइएको छ।

मृतकका आफन्त गोकुल पाण्डेले नियमित जाँच भइरहेकै स्थानबाट रिफर गर्दै क्लिनिकहरूले जिम्मेवारी नलिएको र असुरक्षित औषधि प्रयोगका कारण अकालमै ज्यान गएको दाबी गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन्।
प्रहरीले शवको पोस्टमार्टम तथा पक्राउ परेकाहरूको बयानका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया