काठमाडौं, ३ वैशाख २०८३ । टर्कीमा एक विद्यालयमा गोलीबारी हुँदा नौ जनाको मृत्यु भएको छ । दक्षिण टर्कीमा रहेको विद्यालयमा गोलीबारी हुँदा आठ विद्यार्थी र एक शिक्षकको मृत्यु भएको हो ।
टर्कीका गृहमन्त्री मुस्तफा सिफ्सीले कहरामनमारास क्षेत्रको आयसर क्यालिक सेकेन्डरी स्कुलमा घटना भएको पुष्टि गरेका छन् । उनका अनुसार गोलीबारीमा अन्य १३ जना घाइते भएका छन् ।
घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घटनाका दौरान १४ वर्षीय आक्रमणकारी पनि मारिएका छन् । बुधबार भएको गोलीबारीको कारण खुल्न नसकेको बीबीसीले जनाएको छ ।
टर्कीका सञ्चारमाध्यमहरूका अनुसार आक्रमणकारी छात्रले दुईवटा कक्षा कोठामा प्रवेश गरेर अन्धाधुन्ध गोली चलाएको थियो । ती छात्रसँग पाँच थान बन्दुक र सात म्यागेजिन रहेको बीबीसीको समाचारमा उल्लेख छ ।
आक्रमणबारी छात्रका बुवा सेवानिवृत्त प्रहरी अधिकारी भएको बताइएको छ । यसअघि मंगलबार पनि टर्कीको दक्षिणी क्षेत्रको एक हाई स्कुलमा पनि एक पूर्वछात्रले गोली चलाएको थियो ।
उक्त गोलीबारीमा १६ जना घाइते भएका थिए । पछि आक्रमणकारीले आफैंलाई गोली हानेका थिए ।






