काठमाडौं, २ वैशाख २०८३ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालयमा पुगेको छ। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार उक्त प्रतिवेदन पुस्तकालयमा अभिलेखका रूपमा राखिनेछ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटना तथा राज्य पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न सरकारले पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको थियो। आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी सदस्य थिए। आयोगले २४ फागुन २०८२ मा सरकारलाई प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदन सार्वजनिक गर्ने भनिए पनि हालसम्म सार्वजनिक गरिएको छैन।
यसैबीच, आयोगका केही सिफारिसहरू कार्यान्वयनमा समेत लगिसकिएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध फौजदारी अनुसन्धान अघि बढाइएको थियो। पछि अदालतको आदेशपछि दुवै जना रिहा भइसकेका छन्।
सरकारले प्रतिवेदनका बाँकी सिफारिस कार्यान्वयन र सार्वजनिक गर्ने विषयमा छलफल अघि बढाइरहेको बताइएको छ।






