काठमाडौं, २ वैशाख २०८३ । अन्डमान सागरमा मलेसियातर्फ जाँदै गरेको एउटा डुंगा पल्टिँदा कम्तीमा २५० जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेहरूमा रोहिंग्या शरणार्थी र बंगलादेशी नागरिक रहेको बताइएको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त र अन्तर्राष्ट्रिय आप्रवासन संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी दिएको हो।
विज्ञप्तिअनुसार मंगलबार दक्षिण बंगलादेशको कोक्स बजारस्थित टेकनाफबाट उक्त डुंगा मलेसियातर्फ प्रस्थान गरेको थियो। यात्रा क्रममा डुंगामा क्षमताभन्दा बढी यात्रु चढाइएकाले, साथै तीव्र हावाहुरी र समुद्री छालका कारण नियन्त्रण गुम्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।
घटनापछि बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी रहेको अन्तर्राष्ट्रिय निकायहरूले जनाएका छन्।






