Online Bichar
बिहिबार, बैशाख ०३, २०८३ | Thursday, April 16, 2026

विराटनगर, २८ चैत २०८२ । कोशी प्रदेशमै पहिलो सलाइन उद्योग सञ्चालनमा आएको छ । मोरङको बुढीगङ्गा गाउँपालिका–२ मा स्थापना गरिएको ‘एलेक्सा लाइफसाइन्सेज’ले सबै कानुनी प्रक्रिया पूरा गरी व्यवसायिक उत्पादन सुरु गरेको हो ।

एक अर्ब रुपैयाँभन्दा बढी लगानीमा स्थापना गरिएको उक्त उद्योगको उद्घाटन वरिष्ठ मुटुरोग विशेषज्ञ डा। भगवान् कोइरालाले शुक्रबार गर्नुभएको हो । स्वदेशी पुँजी र प्रविधिमा आधारित अन्तर्राष्ट्रिय मापदण्डको उद्योग सञ्चालनमा आएसँगै करिब १५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

उद्योग सञ्चालनमा आएसँगै सलाइन र औषधिमा आयातमा निर्भरता घटाउने दिशामा महत्वपूर्ण प्रयास भएको उद्योगी दिनेश ठाकुरले बताउनुभयो । यस उद्योगमा ठाकुर र रञ्जित भगतसहितका लगानीकर्ताहरूको लगानी रहेको छ ।

पाँच वर्षको अध्ययन र योजनापछि स्थापना गरिएको उद्योगमा जर्मन प्रविधिमा आधारित अत्याधुनिक मेसिनहरू जडान गरिएका छन् । उद्योगले पहिलो चरणमा १०० एमएलदेखि ३ हजार एमएलसम्मका ‘लार्ज भोल्युम प्यारेन्टरल्स’ सलाइन उत्पादन गरिरहेको छ ।

आगामी चरणमा १ देखि २० एमएलसम्मका ‘स्मल भोल्युम प्यारेन्टरल्स’ तथा तेस्रो चरणमा आँखा र कानमा हाल्ने औषधि उत्पादन गर्ने योजना उद्योगको छ ।

यद्यपि उद्योगले बजार व्यवस्थापनमा केही चुनौती सामना गरिरहेको जनाएको छ । उत्पादन लागत उच्च हुँदा बजार मूल्य समायोजन गर्न कठिनाइ भइरहेको र हाल घाटा सहेरै उत्पादन गर्नुपरेको निर्देशक ठाकुरले बताउनुभयो ।

उहाँले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न सरकारबाट नीतिगत सुधार र सहुलियत आवश्यक रहेकोमा जोड दिनुभयो ।

नेपालको औषधि बजारमा विदेशी कम्पनीहरूको वर्चस्व रहेको अवस्थामा यस उद्योगको स्थापना स्वदेशी उत्पादन प्रवर्द्धनतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । उद्योगले भविष्यमा निर्यातसमेत गर्ने लक्ष्य राखेको छ ।गोरखापत्र अनलाइनबाट

 

तपाईको प्रतिक्रिया