ढाका, २६ चैत २०८२ । बङ्गलादेशमा विद्यार्थी नेता अबु सइदको हत्या प्रकरणमा अदालतले दुई पूर्व प्रहरीलाई मृत्युदण्डको सजाय सुनाएको छ । सइदले सन् २०२४ मा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको निरंकुश शासनविरुद्ध भएको आन्दोलनमा नेतृत्व गरेका थिए ।
२३ वर्षीय सइदको उत्तरी शहर रङ्गपुरमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएको थियो । उनी उक्त आन्दोलनका क्रममा मारिएका पहिलो विद्यार्थी नेता थिए ।
सन् २०२४ जुलाई १६ मा प्रहरीले नजिकैबाट गोली हान्नु अघि हात फैलाएर उभिएको उनको अन्तिम दृश्यको भिडियो सामाजिक सञ्जाल र टेलिभिजनमा व्यापक रूपमा प्रसारित भई भाइरल बनेको थियो ।
अभियोजनकर्ताहरूले यस घटनामा ३० जनाविरुद्ध हत्या, कमान्ड जिम्मेवारी र आपराधिक उद्यमसम्बन्धी आरोपमा मुद्दा दायर गरेका थिए । तीमध्ये मृत्युदण्ड सुनाइएका दुई जनासहित हाल ६ जना मात्रै हिरासतमा छन् ।
मुख्य अभियोजक अमिनुल इस्लामका अनुसार सइदले देशलाई निरंकुश शासनबाट मुक्त गराउन आफ्नो जीवन बलिदान दिएका थिए र सबै ३० जनालाई दोषी ठहर गरिएको छ ।
अदालतले जिल्ला प्रहरी कार्यालयका अमिर हुसेन र सुजनचन्द्र रोयलाई मृत्युदण्ड सुनाएको हो । उनीहरूका वकिल अजिजुल हक दुलुले उक्त फैसलाविरुद्ध अपिल गर्ने बताएका छन् ।
यसैगरी, अदालतले बेगम रोकिया विश्वविद्यालयका उपकुलपतिसहित अन्य २८ जनालाई विभिन्न अवधिको जेल सजाय सुनाएको छ । साथै, हसिनाको अवामी लिगनिकट प्रतिबन्धित विद्यार्थी संगठन बङ्गलादेश छात्र लिगका एक नेतालाई पनि सजाय सुनाइएको छ ।






