काठमाडौं, २६ चैत २०८२ । इजरायलले बुधबार लेबनानमा व्यापक हवाई आक्रमण गर्दा कम्तीमा २५४ जनाको मृत्यु भएको द गार्जियनले जनाएको छ ।
उक्त आक्रमणले अमेरिका र इरानबीच भएको दुईहप्ते ससर्त युद्धविरामलाई थप संकटमा पारेको छ । जवाफमा हिजबुल्लाहले पनि इजरायलतर्फ रकेट प्रहार गरेको जनाएको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले इजरायलले लेबनानमा आक्रमण जारी राखेमा त्यसको कडा जवाफ दिने चेतावनी दिएको छ । अमेरिका र इजरायलले भने लेबनानलाई युद्धविराम सम्झौतामा समावेश नगरिएको जिकिर गर्दै आएका छन् ।
अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी)ले बुधबार घना बस्ती भएका क्षेत्रमा इजरायलले गरेको भीषण आक्रमणबाट भएको ठूलो मानवीय क्षति र विनाशप्रति कडा आक्रोश व्यक्त गरेको छ ।
रेडक्रसका अनुसार, बेरुतसहितका व्यस्त क्षेत्रमा कुनै प्रभावकारी पूर्वसूचनाबिना नै शक्तिशाली विस्फोटक हतियार प्रहार गरिएको थियो । लेबनानका निम्ति आईसीआरसीका प्रतिनिधि एग्नेस धुरले भने, “आफ्नो घर फर्कने सपना देख्न थालेका धेरै मानिस फेरि सडक र अस्पतालतिर दौडन बाध्य भएका छन् । उनीहरू आफ्ना बेपत्ता प्रियजनको खोजीमा छन् वा सुरक्षाको खोजीमा छन्, त्यो अहिले पहुँचभन्दा बाहिर महसुस भइरहेको छ ।”
लेबनानको नागरिक रक्षा विभागका अनुसार, बुधबारको आक्रमणमा कम्तीमा २५४ जनाको मृत्यु भएको छ । एक हजार १६५ जना घाइते भएका छन् ।
संयुक्त राष्ट्रसंघका अनुसार, मार्चको सुरुदेखि हालसम्म ११ लाख लेबनानी विस्थापित भइसकेका छन् । यो संख्या लेबनानको कुल जनसंख्याको झन्डै पाँच भागको एक हो ।






