काठमाडौं, १७ चैत २०८२ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न नयाँ स्वास्थ्य संस्थालाई सूचीकरण खुला गरेको छ । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रिस्तरीय निर्णयबाट नयाँ स्वास्थ्य संस्थालाई सूचीकरण खुला गरिएको जनाएको छ ।
योसँगै यसअघि रहेको वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्ने संस्थाको ‘सिन्डिकेट’ तोडिने भएको छ । “वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने नेपाल सरकारबाट स्वीकृति प्राप्त वा नेपाल सरकारको स्वामित्वमा रहेको स्वास्थ्य संस्थाले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकरण खुला गर्ने र स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२ को दफा ३ को व्यवस्थाबमोजिम यस मन्त्रालयबाट सूचीकरणको लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको व्यहोरा जानकारीका लागि अनुरोध छ,” विज्ञप्तिमा भनिएको छ ।
यसअघि, सरकारले तोकेको स्वास्थ्य संस्थाबाट मात्र वैदेशिक रोजगारीमा जाने कामदारले स्वास्थ्य परीक्षण गराउनुपर्थ्यो । स्वास्थ्य परीक्षण गरेबापत तोकेका स्वास्थ्य संस्थाले एकजनासँग ६ हजार ६०० रुपैयाँ शुल्क लिने गर्थे ।
मंगलबारको मन्त्रिस्तरीय निर्णयसँगै अब यसमा अरू स्वास्थ्य संस्था पनि जोडिन पाउने भएका हुन् । यसले वैदेशिक रोजगारीमा जाने कामदारलाई स्वास्थ्य परीक्षण गराउन सहज हुने मन्त्रालयको विश्वास छ ।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७२ को उपदफा (१) मा ‘वैदेशिक रोजगारका लागि जाने कामदारले विदेश जानुअघि नेपाल सरकारबाट स्वीकृति प्राप्त स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउनुपर्नेछ’ भन्ने उल्लेख थियो ।
वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४५ क. को उपनियम (९) मा ‘नेपाल सरकारले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण नेपाल सरकारको स्वामित्वमा रहेका स्वास्थ्य संस्थाबाट गराउन यस नियममा भएको व्यवस्थाले बाधा पुगेको मानिने छैन’ भन्ने व्यवस्था थियो ।






