Online Bichar
शनिबार, मंसिर ०६, २०८३ | Saturday, November 21, 2026

काठमाडौं, १७ चैत २०८२ । पश्चिम एसियामा एक महिनाभन्दा बढी समयदेखि जारी युद्धका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा महत्त्वपूर्ण रणनीति सार्वजनिक भएको छ । जारी युद्धकै क्रममा ट्रम्प प्रशासनले होर्मुज जलमार्गमा आफ्नो नियन्त्रण पुनः स्थापित गर्ने तयारी गरिरहेको अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले बताएका छन् ।

फक्स न्युजलाई दिएको एक अन्तर्वार्तामा बेसेन्टले निकट भविष्यमा अमेरिकी जहाजहरू वा बहुराष्ट्रिय संयुक्त नौसैनिक बलमार्फत ‘स्ट्रेट अफ होर्मुज’ अमेरिकाको प्रभावकारी नियन्त्रणमा आउने बताएका छन् ।

थप स्पष्ट पार्दै उनले हाल केही देशहरूले इरानसँग समझदारी गरी आफ्ना जहाजहरू उक्त जलमार्ग हुँदै आवतजावत गराइरहे पनि समयक्रममा अमेरिकाले यसलाई पूर्ण रूपमा नियन्त्रणमा लिने र जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने बताएका छन् ।

उनका अनुसार, हाल बजारमा तेल आपूर्ति सन्तुलित रहेको र दैनिक रूपमा धेरै जहाजहरू उक्त मार्गबाट गुज्रिरहेका भए पनि अन्ततः अमेरिकाले यस जलमार्गमा आफ्नो नियन्त्रण पुनः स्थापित गर्नेछ ।

पश्चिम एसियामा जारी युद्धका कारण होर्मुज जलमार्गलाई लिएर विश्वव्यापी चिन्ता चरम अवस्थामा पुगेको बेला बेसेन्टको यस्तो भनाइ सार्वजनिक भएको हो ।

होर्मुज जलमार्ग विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक हो, जहाँबाट विश्वको करिब एक–पाँचौँ हिस्सा तेल आपूर्ति हुने गर्दछ । यस्तो संवेदनशील अवस्थामा अमेरिकी योजना कार्यान्वयन भएमा विश्व समुद्री व्यापार तथा तेल बजारमा ठूलो प्रभाव पर्ने आँकलन गरिएको छ ।

‘इरानको नौसेना र मिसाइल प्रणाली कमजोर बनाउँदैछौँ’
अर्कोतर्फ, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एबीसी न्युजसँगको अन्तर्वार्तामा अमेरिकाले इरानको नौसेना तथा रक्षा उद्योगलाई महत्त्वपूर्ण क्षति पुर्‍याएको दाबी गरेका छन् ।

उनले राष्ट्रपति ट्रम्पले इरानलाई खाडी क्षेत्रमा दीर्घकालीन नियन्त्रण जमाउन नदिने स्पष्ट नीति लिएको र अमेरिकाले आफ्ना रणनीतिक उद्देश्यहरू केही हप्ताभित्रै हासिल गर्ने बताएका छन् ।

रुबियोका अनुसार, “हामी इरानको नौसेना र मिसाइल प्रक्षेपण प्रणालीहरू नष्ट गर्दैछौँ र उनीहरूको रक्षा उद्योगलाई पनि कमजोर बनाउँदैछौँ, ताकि उनीहरूले भविष्यमा नयाँ मिसाइल वा ड्रोन विकास गर्न नसकून् ।”

उनले खाडी क्षेत्रमा नियन्त्रणका विषयमा इरानले दिएको चेतावनीप्रति पनि प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पसँग विभिन्न विकल्पहरू उपलब्ध रहेको बताए । साथै, इरानले जलमार्ग कब्जा गर्ने प्रयास गरेमा त्यसलाई रोक्न अमेरिका तयार रहेको बताएका छन् ।

इरानको प्रतिक्रिया
यद्यपि, इरानले अमेरिकी दाबीहरूलाई अस्वीकार गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर क्यानानी बगहेईले अमेरिकाको वार्ता र कूटनीतिसम्बन्धी भनाइहरू विश्वसनीय नभएको टिप्पणी गरेका छन् ।

उनले अमेरिका बारम्बार आफ्नो अडान परिवर्तन गर्दै आएको आरोप लगाए । इरानले भने सधैँ स्पष्ट र स्थिर अडान राखेको दाबी उनले गरे ।

पाकिस्तान वार्ता बैठकमा इरानले बनायो दुरी
इरानले हालै पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफद्वारा आयोजित चार देशीय बैठकमा सहभागिता जनाएको छैन । यी घटनाक्रमबीच राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिका र इरानबीचको अप्रत्यक्ष वार्तामा सकारात्मक प्रगति भइरहेको बताएका छन् । तर, उनले छिट्टै कुनै सहमति नभए र होर्मुज जलमार्ग खुला नरहेमा अमेरिकाले इरानका विद्युत् केन्द्र, तेलका कुवा तथा खार्ग टापुजस्ता रणनीतिक संरचनामाथि कडा कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

 

तपाईको प्रतिक्रिया