Online Bichar
शनिबार, मंसिर ०६, २०८३ | Saturday, November 21, 2026

कोलम्बिया,१० चैत २०८२ । कोलम्बियाको दक्षिणी अमेजन प्रान्त पुतुमायोमा सैनिक विमान दुर्घटनामा कम्तीमा ३४ जनाको मृत्यु भएको छ। रक्षा मन्त्री पेद्रो सान्चेज (Pedro Sanchez)ले विमानले पुतुमायो प्रान्तकै अर्को शहरतर्फ सैनिकहरूलाई लैजाने क्रममा दुर्घटना भएको सामाजिक सञ्जाल एक्समा पुष्टि गरेका हुन्। ​​​​​​

पुतुमायोका गभर्नर झोन गाब्रिएल मोलीनाले दिएको जानकारीअनुसार ३४ जनाको शव फेला परेको छ, जसमा २१ जनाको पहिचान अझै हुन बाँकी छ।कोलम्बियाली वायुसेनाले जनाएअनुसार लखिड मार्टिन निर्मित हर्क्युलिस C-130 विमानमा १२५ जना सैनिक सवार थिए। विमान उडान भरेको १.५ किलोमिटरमै जमिनमा ठोक्किएको थियो। विमानमा रहेको गोलीगठ्ठा आगलागीका कारण विस्फोट भएको बताइएको छ।

रक्षा मन्त्री सान्चेजले यो दुर्घटनामा अवैध समूहको आक्रमणको कुनै संकेत नभएको स्पष्ट पारे। वायुसेनाका कमाण्डर कार्लोस फर्नान्डो सिल्भाले घाइतेलाई राजधानी बोगोटा र अन्य अस्पतालमा लैजान दुई उद्धार विमान पठाइएको जानकारी दिएका छन्।

कोलम्बियाले पहिलो हर्क्युलिस C-130 विमान सन् १९६० दशकमा ल्याएको थियो। पछिल्ला वर्षमा अमेरिकाबाट नयाँ मोडेल ल्याएर पुराना विमानलाई आधुनिक बनाइएको छ।

 

तपाईको प्रतिक्रिया