काठमाडौं, ९ चैत २०८२ । पश्चिम एसियामा जारी युद्धका बीच एउटा ठूलो कूटनीतिक मोड आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता अत्यन्तै राम्रो र फलदायी भएको बताएका छन् ।
वार्तापछि इरानका ऊर्जा संयन्त्रहरू, विशेष गरी बुशहर आणविक विद्युत् केन्द्रमा गर्ने भनिएको हमलालाई पाँच दिनका लागि टार्ने निर्णय गरेको द न्युयोर्क टाइम्सले जनाएको छ ।
यसअघि ट्रम्पले ४८ घण्टाको अल्टिमेटम दिँदै इरानले होर्मुज जलमार्ग पूर्ण रूपमा नखोले इरानका सबैभन्दा ठूला पावर प्लान्टहरू ध्वस्त पारिदिने धम्की दिएका थिए । तर, सोमबार ट्रम्पले सामाजिक सञ्जालमार्फत शत्रु्ता अन्त्यका लागि ठोस कुराकानी भइरहेको जानकारी दिएका छन् ।
अमेरिका र इरानबीच द्वन्द्व अन्त्यका लागि ‘अत्यन्तै राम्रो’ वार्ता : ट्रम्प
ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिका र इरानबीच मध्यपूर्वमा जारी शत्रु्ताको पूर्ण र समग्र समाधानका लागि अत्यन्तै राम्रो र फलदायी कुराकानी भएको जानकारी दिए ।
यो सकारात्मक संवादका आधारमा ट्रम्पले पेन्टागनलाई इरानी विद्युत् केन्द्र र ऊर्जा पूर्वाधारहरूमा गर्ने भनिएको नियोजित आक्रमणलाई पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएका छन् ।
यद्यपि, अमेरिका र इरानबीचको यो कूटनीति संवाद कसले सम्हालिरहेको छ भन्ने स्पष्ट छैन । पछिल्ला दिनहरूमा दुवै देशले एकअर्कालाई युद्धको धम्की दिँदै आएका थिए ।
ट्रम्पले पूर्ण र समग्र समाधानको विस्तृत विवरण भने खुलाएनन् । विश्लेषकहरूका अनुसार, यो द्वन्द्वबाट बाहिरिने सुरक्षित बाटो फेला पार्न निकै कठिन छ । यसको एउटा कारण इजरायल र अमेरिका दुवैले इरानी सरकारलाई सत्ताच्युत गर्नुपर्ने माग राख्दै आएका छन् ।
आयतुल्लाह अली खामेनेईलगायत वरिष्ठ नेताहरूको हत्याका बाबजुद इरानी सत्ता अझै ढलेको छैन ।
विश्वकै लागि तेल आपूर्तिको मुख्य मार्ग होर्मुज जलमार्गबाट तेलको प्रवाह सुचारु गर्नु अहिलेको सबैभन्दा जरुरी मुद्दा भएको छ । यो मार्गमा इरानले अहिले नाकाबन्दी लगाएको छ ।
दुवै पक्षका लागि पूर्ण समाधान के हो भन्ने प्रश्न अझै अनुत्तरित छ । इरानको इसफहान र नातान्जका आणविक केन्द्रहरूमा करिब ९७० पाउन्ड हतियार बनाउन मिल्ने स्तरको युरेनियम भण्डारण गरिएको विश्वास गरिन्छ । यो भण्डारको व्यवस्थापन कसरी गर्ने भन्ने विषय निकै संवेदनशील छ ।
साथै, अमेरिका र इजरायल इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स र नयाँ सर्वोच्च नेता मुजतबा खामेनेईसँगको शत्रु्ता अन्त्य गर्न तयार छन् कि छैनन् भन्ने कुराले पनि ठूलो अर्थ राख्ने बताइएको छ ।






