Online Bichar
शनिबार, मंसिर ०६, २०८३ | Saturday, November 21, 2026

काठमाडौं, ४ चैत २०८२ । भारतको मध्य प्रदेशको इन्दोर सहरमा इलेक्ट्रिक कार चार्जिङ प्वाइन्टमा विस्फोट भएपछि आगलागी भएको छ । आगलागीमा परी सातजनाको मृत्यु समाचार संस्था पीटीआईले जनाएको छ ।

खाना पकाउने ग्यास सिलिन्डर पनि विस्फोट हुँदा आगो झनै भीषण बनेको बताइएको छ।

पीटीआईका अनुसार, ब्रजेश्वरी एनेक्स कोलोनीमा रहेको उक्त घरमा बिहान साढे ३ बजेदेखि साढे ४ बजेको बीचमा आगलागी भएको थियो।

घटनापछि एक बालक बेपत्ता भएको र उनको खोजी भइरहेको बताइएको छ ।

प्रहरी आयुक्त सन्तोष कुमार सिंहले उक्त तीनतले घरबाहिर एउटा कार चार्ज भइरहेको बताए । “चार्जिङ प्वाइन्टमा विष्फोट भयो । र, त्यसपछि कारमा लागेको आगोले घरलाई नै चपेटामा लियो,” उनले भने ।

घरका ढोकाहरूमा इलेक्ट्रोनिक लक जडान गरिएको हुनाले प्रहरीलाई भित्र पस्न गाह्रो भएको उनको भनाइ छ ।

घरभित्र रहेका खाना पकाउने ग्यास सिलिन्डरहरू पनि विस्फोट भएकाले आगो थप भयावह बनेको प्रहरी आयुक्तले बताएका छन् ।

आगलागीका बेला घरभित्र फसेका तीन जनाको उद्धार गरिएको छ । आगो लाग्दा घरभित्र करिब १० जना रहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया