Online Bichar
शनिबार, मंसिर ०६, २०८३ | Saturday, November 21, 2026

अंकारा, २५ फागुन २०८२ । वासिंगटनले टर्कीको अदाना सहरनजिकै रहेको वाणिज्य दूतावासबाट अतिआवश्यकबाहेकका कर्मचारीहरूलाई त्यहाँबाट बाहिर जान सल्लाह दिएको अंकारास्थित अमेरिकी दूतावासले सोमबार जानकारी गराएको छ । वासिंगटनले अमेरिकी नागरिकहरूलाई पनि ‘दक्षिणपूर्वी टर्की’ छोड्न आदेश दिएको दूतावासले जनाएको छ ।

फेब्रुअरी २८ मा अमेरिका–इजरायल आक्रमण सुरु भएयता इरानले त्यसको बदलामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दै आएको छ । टर्कीका कैयौँ सैनिक शिविरमा अमेरिकी सेना तैनाथ भए पनि अहिलेसम्म यहाँ आक्रमण भएको छैन ।

अदाना सहरबाट केवल १० किलोमिटर टाढा रहेको इन्सर्लिक हवाइ अड्डामा नेटो सेनाका लागि महत्त्वपूर्ण सुविधा रहेको छ । यो दशकौँदेखि अमेरिकी सेनाले प्रयोग गर्दै आएको छ जुन अदाना सहरबाट केवल १० किलोमिटर टाढा छ ।

“विदेश मन्त्रालयले गैर–आकस्मिक अमेरिकी सरकारी कर्मचारी र अमेरिकी सरकारी कर्मचारी परिवारका सदस्यहरूलाई सुरक्षा जोखिमको कारण सन् २०२६ मार्च ९ पछि वाणिज्य दूतावास छोड्न आदेश दिएको छ,“ दूतावासले एक्समा जारी विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले यात्रा सुझावलाई उद्धृत गर्दै भनेको छ, “दक्षिणपूर्वी टर्कीमा अमेरिकीहरूलाई उक्त क्षेत्रबाट बाहिर निस्कन सूचना जारी गरिएको छ ।” बुधबार नेटोका सैनिकहरूले इरानबाट टर्कीतर्फ जाँदै गरेको ब्यालेस्टिक क्षेप्यास्त्र रोकेका थिए ।

त्यसपछि नेटोले इरानले यस क्षेत्रमा आक्रमण बढाएसँगै उसले आफ्नो ‘ब्यालेस्टिक मिसाइल प्रतिरक्षा प्रणाली’लाई बलियो बनाएको बताएको छ ।

अंकारास्थित टर्कीको रक्षा मन्त्रालयले नेटोको रक्षा प्रणालीले इरानबाट प्रहार गरिएको ब्यालेस्टिक क्षेप्यास्त्रलाई रोकेको र निष्क्रिय पारेको बताएको छ ।

स्पेनका रक्षामन्त्री मार्गरिटा रोबल्सले इन्सर्लिकमा रहेको प्याट्रियट क्षेप्यास्त्रको ब्याट्री प्रयोग गरिरहेको स्पेनी सैनिकले उक्त क्षेप्यास्त्र देखेको बताएका छन् ।

उनले भने, “उनीहरूले ‘मिसाइल आक्रमण भएको पहिचान गरेका र यसबारे जानकारी गराएका थिए । यद्यपि उनीहरूले यसलाई गोली हानेका थिएनन् ।” रासस/एएफपी

 

तपाईको प्रतिक्रिया