Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

बिर्तामोड, ७ माघ । उपभोक्ताको हितका लागि सामुहिक रुपमा झापामा क्रियाशिल हुने उपभोक्तावादी संस्थाहरुले आठ बुँदे प्रतिबद्धता जनाएका छन् ।

उपभोक्ताहरु लामो समयदेखि उपभोग्य वस्तु खरिद गर्दा गुणस्तर तथा मूल्यमा ठगिदै आएको समस्यालाई मनन गर्दै उपभोक्ताको अधिकार रक्षा गर्न स्थानीय तहसँग समन्वय गरी सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने लगायतका आठ बुँदे ती संस्थाले प्रतिबद्धता जनाएका हुन् ।

स्थानीय सरकार र सरोकारवालाहरुसँग समन्वय गरी नियमित र प्रभावकारीरुपमा बजार अनुगमन गर्ने तथा उपभोक्ता हित विपरीत काम गर्नेलाई कारवाहीको दायरामा ल्याउन स्थानीय सरकारलाई सहयोग गर्ने समेत उनीहरुले बताएका छन् । मंगलबार झापाको बिर्तामोडमा भएको उपभोक्तावादी संस्थाहरुको सामुहिक छलफलमा सहभागीले सबै स्थानीय तहमा बजार अनुगमन समितिमा उपभोक्तावादी संस्थाको अधिकतम् प्रतिनिधित्व गराउन समेत माग गरेका छन् ।

अहिले विषादि र गुणस्तरहिन खाद्य वस्तुले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परिरहेको कुरालाई मनन गरी उनीहरुले भारतबाट खाद्यवस्तु भित्रिने काँकरभिट्टा र भद्रपुर नाकामै दक्ष जनशक्तिसहित विषादि परीक्षण प्रयोगशालाको व्यवस्था गर्नुपर्ने तथा स्थानीय क्षेत्रमा उत्पादिन वस्तुको समेत विषादि तथा गुणस्तर मापन गर्न स्थानीय सरकार र सरोकारवालासँग माग गरेका छन् ।

त्यस्तै नेपालमा प्रतिबन्धित खाद्य वस्तु, विषादि, औषधि लगायतको सूची तत्काल सार्वजनिक गर्न र स्थानीय तह तथा सरोकारवालालाई उपलब्ध गराउन जिल्ला प्रशासन र सरकार समक्ष उनीहरुले माग गरेका छन् । बिर्तामोडमा रहेको विषादि परीक्षण प्रयोगशालालाई नियमित उपयोगमा ल्याउन र त्यसबारे सबैलाई सचेत गराउन समेत उपभोक्तावादी संस्थाले स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै स्थानीय पाठ्यक्रममा उपभोक्ता सचेतनाका सामग्री समावेश गर्नुका साथै अग्र्या्निक जीवनशैली अपनाउनका लागि उनीहरुले जोड दिएका छन् । उपभोक्तावादी संस्थाबीच नै समन्वयको अभावमा जनचेतना र अनुगमनमा प्रभावकारी खबरदारी हुन नसकेको ठहर गरी उनीहरुले अबका दिनमा आपसी समन्वय तथा हरेक पालिकामा उपभोेक्तावादी संस्थाको इकाइ समिति बनाउन अग्रसर हुने समेत प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्च, उपभोक्ता हित संरक्षण मञ्च, उपभोक्ता मञ्च नेपाल, विश्व उपभोक्ता महासंघ लगायतका प्रतिनिधिले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मदनगोपाल सुब्बा, उपाध्यक्ष दिपेन्द्रप्रसाद ढकाल, उपभोक्ता हित संरक्षण मञ्चका राजेन्द्र चम्लागाई, उपभोक्ता मञ्च नेपालका सचिव सन्तोष न्यौपाने, विश्व उपभोक्ता महासंघका अध्यक्ष रोशन खड्का लगायतले सामुहिक प्रतिबद्धता जनाएका हुन् । त्यस्तै उपभोक्तावादी संस्थाका प्रतिनिधिहरु नविन कोइराला, ईश्वरीराज ढकाल, विमला भट्टराई, शीला उप्रेती, वर्षा पोखरेल लगायतले समेत उपभोक्ताको हित संरक्षणमा जोड दिए ।

अहिले पालिकाहरुले बजार अनुगमन निर्दे्शिका जारी गरी उपभोक्ता हित संरक्षण समिति गठनका साथै बजार अनुगमन टोली बनाउनुपर्ने व्यवस्था छ । कतिपय पालिकाले निर्दे्शिका बनाइ काम शुरु गरे पनि कतिपय अझै यसबारे अलमलमै रहँदा उपभोक्ता ठगिनेक्रम बढेको सरोकारवालाको भनाइ छ । उपभोक्तावादी संस्थाका प्रतिनिधिले आफूहरुसहितको सहभागितामा
तत्काल नियमित र प्रभावकारी बजार अनुगमन गर्न ध्यानाकर्षण समेत गराएका छन् । संवाद समूहको संयोजनमा भएको छलफलको सहजीकरण अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए । साझामञ्च

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments