कञ्चनपुर, १० फागुन २०८२ । सुदूरपश्चिम प्रदेशमा डेंगी संक्रमणको जोखिम अझै देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकअनुसार, विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेंगीबाट संक्रमित हुनेको संख्या सात हजार ६८३ रहेको छ ।
स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार, आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिममा तीन हजार ३४९ जनामा डेंगी संक्रमण पुष्टि भएको थियो । ०८१/८२ मा यो संख्यामा सामान्य कमी आए पनि जोखिम भने कायमै रहेको उनले बताए । सो वर्ष तीन हजार ३१६ जनामा संक्रमण देखिएको थियो ।
चालु आर्थिक वर्षको हालसम्म प्रदेशमा एक हजार १८ जना डेंगीबाट प्रभावित भइसकेका छन् । अधिकृत जोशीले भने, “अघिल्ला वर्षको तुलनामा डेंगीको ग्राफ केही घटेको देखिए पनि संक्रमणको जोखिम भने टरेको छैन । विशेषगरी तराईका जिल्लामा यसको प्रभाव बढी छ ।”
निर्देशनालयका अनुसार, प्रदेशका कैलाली र कञ्चनपुर डेंगीबाट सबैभन्दा बढी प्रभावित जिल्ला हुन् । पछिल्लो समय जलवायु परिवर्तन र बढ्दो सहरीकरणका कारण पहाडी जिल्लामासमेत डेंगीका बिरामी फेला पर्न थालेका अधिकृत जोशीले बताए । उनका, अनुसार डेंगी नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय तहले ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिँदै आएका छन् ।
यसैबीच, नागरिकस्तरबाट घर वरपर पानी जम्न नदिने र व्यक्तिगत सतर्कता अपनाउनमा कमी आउँदा संक्रमण पूर्ण रूपमा नियन्त्रण हुन नसकेको स्वास्थ्यकर्मी बताउँछन् । ‘एडिस एजिप्टी’ जातको लामखुट्टेको टोकाइबाट सर्ने यो रोग नियन्त्रणका लागि सचेतना मुख्य उपाय भएको अधिकृत जोशीले बताए । निर्देशनालयले ज्वरो आउने, जोर्नी दुख्ने र टाउको दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा परीक्षण गराउन आग्रह गरेको छ । रासस





