Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

काठमाडौँ, ३ फागुन । नेपाल इन्जिनियरिङ कलेजले डेढ अर्ब रुपैयाँको सम्पत्ति हडप्ने विषयमा देखिएको विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ घुस लिएको विषय नेपाल खवर डटकमले बुधबार राति पहिलोपटक सार्वजनिक गरेको थियो । मुद्दा मिलाइदिने बहानामा घुस दिने पक्षले भिडियोसमेत खिचेको र आयुक्त पाठकले घुस लिएको प्रस्ट देखिएको बताइएको छ । घुसकाण्डको विषयमा गोप्यरुपमा करिब नौ घन्टाको भिडियो रेकर्ड गरिएको छ ।

यो त्यही भिडियो थियो जुन प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही उच्च पदस्थहरूले करिब ४ महिनाअघि नै हेरिसकेका थिए । तर उनीहरू बिहीबार मात्रै बोल्न थाले जब अख्तियारका आयुक्त राजनारायण पाठकले घूस लिएको त्यो भिडियोबारे समाचार सार्वजनिक भयो । ‘उच्च पदस्थहरू’ यति लामो समय किन गुपचुप रहे ।

घटना डेढ वर्षअघिको हो । ‘झन्डै ४ महिनाअघि नै यो भिडियो प्रधानमन्त्री कार्यालयसहित केही उच्च पदस्थ सरकारी अधिकारीहरूसमक्ष पुगिसकेको थियो,’ स्रोतले भन्यो, ‘उनीहरूले अनुकूल समयमा कारबाही अघि बढाउने भन्दै पर्खन आग्रह गरिरहेका थिए ।’ प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतासमक्ष पनि यो सूचना पुगेको थियो । तर उनीहरूले पनि यसलाई बाहिर ल्याउन चाहेनन् ।

उच्च पदस्थ सरकारी अधिकारीहरू, महान्यायाधिवक्ता अग्नि खरेल, विभिन्न दलका नेता र अन्य स्रोतहरूसँगको कुराकानीबाट थाहा भएअनुसार प्रधानमन्त्री ओली, उनका राजनीतिक सल्लाहकार विष्णु रिमाल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, कानुनमन्त्री भानुभक्त ढकाल, सञ्चारमन्त्री गोकुल बाँस्कोटालगायत यसबारे जानकार थिए ।

‘उनीहरूले गृहसचिव प्रेम राईमार्फत भिडियो पाएका थिए,’ स्रोतले दाबी गर्‍यो, ‘प्रधानमन्त्री निवास बालुवाटारमै सामूहिक रूपमा भिडियो हेरिसकेका थिए ।’ स्रोतका अनुसार प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालाई पनि भिडियोबारे जानकारी थियो ।

दुईपटक सूचना पुर्‍याउँदासमेत उनले कुनै प्रतिक्रिया नदिएपछि भिडियो खिच्ने समूहले अन्त पनि जानकारी गराउँदै कारबाहीका लागि आग्रह गरेको थियो । भिडियोले आफू अप्ठ्यारोमा परेपछि आयुक्त पाठकले कांग्रेस नेता विमलेन्द्र निधिसँग सहयोगको आग्रहसमेत गरेका थिए । तर निधिले पाठकलाई सहयोग त गरेनन्, भिडियोबारे पनि कहीँ कतै बोलेनन् ।

आफूमाथि भिडियो खिचिएको र त्यो सार्वजनिक हुन सक्ने पत्तो पाएपछि पाठकले राजपा अध्यक्ष महन्थ ठाकुरलाई समेत भेटेका थिए । ठाकुरले उनलाई ‘सहयोग गर्न नसक्ने’ जवाफ दिएर फर्काएको स्रोतले बतायो । तर यसबीचमा ठाकुरले पनि घूस लिएका आयुक्तमाथि कुनै सार्वजनिक टीकाटिप्पणी गरेको पाइएन । यो भिडियोबारे अख्तियारका सबै पदाधिकारी, सचिव र सहसचिवहरू जानकार थिए ।

अख्तियार पदाधिकारीले प्रधानमन्त्री ओलीलाई भेटेर निकास दिन आग्रह पनि गरेका थिए । तर उनीहरूले यसबारे केही बोलेनन् । बरु आयुक्त पाठकको अधिकारक्षेत्र सीमित बनाएर उनको चलखेल निस्तेज तुल्याउने बाटो अपनाए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments