Online Bichar
शुक्रबार, आषाढ १९, २०८३ | Friday, July 3, 2026

विराटनगर, १ कार्तिक २०८२ । तलब वृद्धिको माग गर्दै नर्सिङ स्टाफ आन्दोलनमा उत्रिएपछि विराट मेडिकल कलेज शिक्षण अस्पतालले उपचाररत बिरामीलाई अन्यत्र जान आग्रह गर्दै ‘डिस्चार्ज’ गर्न थालेको छ । नर्सहरूले काम नगर्दा अस्पतालमा नयाँ बिरामी भर्ना समेत रोकिएको छ ।

अस्पतालमा हाल करिब ४५० बिरामी उपचाररत रहेका छन् । उनीहरूका निम्ति वैकल्पिक व्यवस्था गर्नुपर्ने स्थिति उत्पन्न भएको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० डेनिस कार्कीले भने, “हामीले नयाँ बिरामी भर्ना लिन छाडेका छौँ । नियमित नर्सहरूले काम नगरेका कारण मेडिकल कलेजका विद्यार्थीहरूमार्फत सेवा चलाउन खोजिएको छ, तर सबै सेवा दिन सकिने अवस्था छैन ।”

उनका अनुसार, जटिल प्रकृतिका बिरामी तथा पेडियाट्रिक ‘केस’लाई अन्यत्र पठाउनेबारे छलफल भइरहेको छ । यसबारे जिल्ला प्रशासन कार्यालय मोरङलाई समेत जानकारी गराइसकेको उनले बताए ।

कार्कीले नर्सहरूका माग सरकारको नीतिगत तहबाट मात्र समाधान हुन सक्ने बताए । “यो समस्या अस्पतालको मात्रै होइन, सरकारकै नीतिगत हस्तक्षेप आवश्यक छ,” उनले भने ।

मेडिकल कलेजले आकस्मिक सेवा (इमरजेन्सी) भर्ना समेत बन्द गरिसकेको छ । सेवा बन्द गरिँदा बिरामी र आफन्त मर्कामा परेका छन् ।

मेडिकल कलेजका अध्यक्ष डा। ज्ञानेन्द्रमान सिंह कार्कीले भने, “सरकारले नीति बनाएर निर्णय गरेमा तलब वृद्धि सम्भव छ । ३४ हजार होइन, आवश्यकता भए ४० हजारसम्म दिन पनि सकिन्छ । तर, एकलौटी रूपमा तलब बढाउने स्थिति छैन ।”

 

तपाईको प्रतिक्रिया