Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

काठमाडौं, २४ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) ले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण आज देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

नेपाल सरकारले विद्यालयमा बन्द, हड्ताल नगर्न विसं २०६८ जेठ ११ मा विद्यालयलाई शान्ति क्षेत्रका रुपमा घोषणा गरेपनि त्यसको पटक–पटक उल्लङ्घन हुँदा पढाइ प्रभावित भएको हो ।

अखिल (क्रान्तिकारी) का कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई यही माघ १७ गते मोरङको विराटनगरमा गिरफ्तारी गरिएको विरोधमा शैक्षिक हड्ताल गरिएको सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौँ उपत्यकालगायत स्थानमा आज बिहान विद्यालय जान तयारीमा रहेका र गइसकेका विद्यार्थी एकाएक बन्दको खबरले विद्यालय जान पाएनन् । कतिपय विद्यालयले भने जोखिम मोलेरै पनि पढाइ सञ्चालन गरिरहेका छन् ।

भक्तपुर र केही जिल्लामा भने यस्ता राजनीतिक हड्तालमा विद्यलाय खुल्लै रहँदै आएको छ । हड्ताल भए पनि निजी विद्यालयले त्यस दिनको पनि शुल्क लिन्छन् भने सामुदायिक विद्यालयका शिक्षकको नपढाए पनि तलब पाक्छ । विद्यालय बन्द हुँदा अभिभावकलाई घरमा छोराछोरी हेर्ने जिम्मेवारी थपिन्छ । विद्यालय तहको हालको सरदर सिकाइ उपलब्धि ५० प्रतिशतको हाराहारीबाट माथि उठ्न नसकेका बेला हड्तालले निजी विद्यालयले बन्दको सट्टामा अतिरिक्त पढाउने गरे पनि सामुदायिक विद्यालयका विद्यार्थीको पढाइमा भने असर पर्दै जान्छ ।

सरकारले जारी गरेको विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा तथा कार्यान्वयन निर्देशिका–२०६८ मा विद्यालयमा बन्द, हड्ताल, राजनीतिक सशस्त्र गतिविधि गर्न नपाइने उल्लेख छ । त्यस्तो गतिविधि बेलाबेलामा भइरहेकामा हालसम्म कुनै कारवाही भएको पाइएको छैन । विद्यालय शान्ति क्षेत्रको अवधारणाप्रति प्रमुख राजनीतिक दल, शिक्षक तथा विद्यार्थी सङ्गठनले समर्थन गर्दै कार्यान्वयनमा पटक–पटक प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले राजनीतिक मुद्दामा विद्यालय बन्द गरिने संस्कारको अन्त्य नहुनु र सरकारले सुरक्षाको प्रत्याभूति नदिनु दुखद् भएको बताए ।

बालफस्थित ज्ञानोदय माविका शिक्षक गोविन्द भण्डारीले विद्यालय खुलेमा आफूहरु पढाउन तयार रहेको भए पनि प्रशासनिक विषय जोडिएकाले विद्यालय बन्द गरिएको बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको फ्ल्यास रिपोर्ट, २०७४ का अनुसार हाल मुलुकका ३५ हजार ६०१ विद्यालय छन् । यसमा २७ हजार ८८३ सामुदायिक र निजी प्रकृतिका विद्यालय छ हजार ५६६ र अन्य धार्मिक प्रकृतिका विद्यालय छन् । कक्षा १ देखि १२ सम्म कूल ७३ लाख ९१ हजार ५७४ विद्यार्थी अध्ययनरत छन् ।

मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले आजको शैक्षिक हड्तालबारे आधिकारिक रूपमा कुनै जानकारी नभएको र यस्तो हड्ताल हुनु बालबालिकाको पढ्न पाउने अधिकारको विरुद्ध भएको बताए ।

तत्कालीन नेकपा (माओवादी) को सशस्त्र युद्धकालमा विसं २०६० असोज २६ गते डोटीको मुढभरास्थित शारदा उच्च माध्यमिक विद्यालयमा विद्रोही पक्षको सांस्कृतिक कार्यक्रममा सुरक्षा निकायबाट भएको गोली प्रहारका क्रममा चार विद्यार्थीसहित १० को मृत्यु तथा केही विद्यार्थी घाइते भएपछि अधिकारकर्मीले विद्यालय शान्ति क्षेत्रका लागि आवाज उठाउन थालेका थिए ।
रासस

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments