बिर्तामोड, २२ साउन २०८२ । सामाजिक सञ्जालमा भाइरल बनेको एउटा बच्चाको भिडियो बारेमा फैलिएको भ्रामक खबरबारे बिर्तामोड चिल्ड्रेन हस्पिटलले आपत्ति जनाएको छ । अर्जुनधारा नगरपालिका-५ का रामबहादुर गिरी नामको फेसबुक पेजबाट प्रसारण भएको भिडियोप्रति आपत्ति जनाउँदै हस्पिटल प्रशासनले बिरामी बच्चाको शारीरिक अवस्था बारेमा स्पष्ट पारेको छ ।
हस्पिटलले आज पत्रकार सम्मेलन गर्दै तीन दिनअघि अस्पतालबाट डिस्चार्ज भएकी शिशुका हजुरबुवा रहेका गिरीले फेसबुकबाट जनमासमा भ्रम फैलाउँदै अस्पताल र चिकित्सकको बदनाम गराउन खोजेको भन्दै आपत्ति जनाएको हो ।
घटनाअनुसार अर्जुनधारा-५ चाँदनी चोककी दिपा गिरीले साउन २ गते बिहान ४ बजेदेखि अचानक सुतिरहेको अवस्थामा नानीलाई छारेले भेटेपछि नजिकैको क्लिनिकमा लगेकी थिइन् । तर, त्यहाँबाट आइसियु भएको अस्पताल लैजान सुझाव दिएपछि उनी बिर्तामोड चिल्ड्रेन अस्पताल पुगेकी थिइन् । १७ दिनको उपचारपछि अस्पतालले शिशु अनुश्रीलाई डिस्चार्ज दिएको थियो । डिस्चार्ज गर्नु पाँच दिनअघिदेखि उनी हाँस्ने र उज्यालो भएपछि अस्पतालले घर लैजान भनेको हो । अस्पतालका अनुसार शिशुमा दुर्लभ र अनौठो सुपर रेफ्रेक्ट्री रेस्टटस एपिलेप्टिकस नाम रोग लागेको जनाएको छ । यो रोग विश्वमा प्रत्येक १० लाखमा ४२ जनालाई लाग्ने रोग हो ।
यो रोग छारे रोगजस्तै हुने र समयमै अस्पताल ल्याएकाले गिरीको उपचार सम्भव भएको अस्पतालले जनाएको छ । अस्पतालले घर लैजानुअघि शिशुका आमालाई सबै सल्लाह दिएर पठाएको भिडियो सुरक्षित रहेको छ । तर, घर लगेको दुई दिनपछि शिशुको हजुरबुवा रामबहादुरले अस्पताललाई लाञ्छना लगाउँदै धामी झाँक्रीमा लगेर नातिनी देखाएको बताउँदै अस्पतालले राम्रोसँग उपचार नगरेको आरोप लगाएका छन् ।
छारे रोगको औषधि नियमित एकै समयमा खानुपर्ने र नखाँदा बिरामीको अवस्था झन् जटिल बन्दै जाने चिकित्सकहरू बताउँछन् । तर, रामबहादुरले प्रसारण गरेको भिडियोमा शिशुलाई औषधि दिनुको सट्टा धामी झाँक्रीतर्फ लगेको बताएका छन् । बिरामीको अवस्था बिग्रँदै गए पुनः अस्पतालमा ल्याउनुपर्नेमा हेलचेक्र्याइँ गरिएको अस्पतालका प्रमुख नवजात शिशु तथा बालरोग विशेषज्ञ डक्टर रूपक आचार्यले बताए ।
उपचार सफल भएपछि शिशुकी आमा गिरीले भनेकी थिइन्, यहाँ ल्याएपछि चिकित्सकको निगरानी र नर्सहरूको केयर देख्दा अब मेरो नानी ठिक हुन्छ भन्ने विश्वास लागेको थियो । आज त्यो विश्वास पूरा भएको छ । म ज्यादै खुसी छु ।’
यसैबीच, पत्रकार सम्मेलनमा अस्पतालकी अध्यक्ष लीला मैनालीले रामबहादुर गिरीले उपचार खर्चबापतको रकम मागेको बताइन् । उनले भिडियो प्रसारण गरेपछि शिशुको घरमा पुगेर अस्पताल भर्ना गर्न आग्रह गर्दा उल्टै रकम माग गरेको बताइन् ।
‘शिशुको टाउकोमा समस्या रहेको र उनको तत्काल इइजी गर्नुपर्ने र उक्त सुविधा बिर्तामोडमा नरहेको अस्पतालले गिरी परिवारलाई जानकारी गराएका थियो । इइजी गरेर ल्याएपछि मात्रै शिशुको डिस्चार्ज गर्न सकिने र उक्त अवधिमा औषधिको मात्रा मिलाउनुपर्ने भने पनि अभिभावकले शिशुलाई घर लैजाने र केही दिनमा भारत लैजाने भनेपछि अस्पताल प्रशासनले परिवारलाई सकुशल नानी जिम्मा लगाएको फोटो, भिडियो सबै सामग्री सुरक्षित छ’, अस्पतालले भनेको छ ।टाईम्सअफ प्रदेशबाट






