Online Bichar
शनिबार, बैशाख १९, २०८३ | Saturday, May 2, 2026

काठमाडौं, १८ साउन २०८२ । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ६३.७३ अंकले घटेर २८५८.९० विन्दुमा झरेको छ। नेप्से घटेसँगै कारोबार रकम पनि अघिल्लो कारोबार साताको अन्तिम दिन बिहीबारको तुलनामा घटेको छ।

यसदिन ३१९ स्क्रिप्सको ३ करोड २२ लाख ६० हजार ३४१ कित्ता सेयर १३ अर्ब ७ करोड ५० लाख ४ हजार ९२० रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो बिहीबार १५ अर्ब ९८ करोड बराबरको कारोबार भएको थियो।

नेप्से परिसूचक उच्च अंकले घटेपनि दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। ट्रेड टावर र शिवम् सिमेन्ट हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

यसदिन सान्भी इनर्जीका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ९.९९ प्रतिशतले ओरालो लाग्यो। कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ७५ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

हिमालयन रिइन्स्योरेन्सले ७१ करोडको सेयर कारोबार गर्दा हिमालयन डिस्टिलरीको ५८ करोड,शिवम् सिमेन्टको ५५ करोड र नगदी ग्रुपको ४२ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये १६ स्टक्सको मूल्य बढ्दा २३३ वटाको घट्यो। नेप्से उच्च अंकले घट्दा सबै समूहको उपसूचक नकारात्मक देखिएका छन्। माइक्रो फाइनान्स समूहको उपसूचक सर्वाधिक ३.०५ प्रतिशतले घट्यो।

तपाईको प्रतिक्रिया