Online Bichar
मंगलबार, भाद्र ०९, २०८३ | Tuesday, August 25, 2026

काठमाडौं, २६ जेठ २०८२ । मनसुन लागेसँगै डेंगु संक्रमण देखिन थालेको छ। जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेंगु संक्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्यांकअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ संक्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेंगु संक्रमण पुष्टि भइसकेको छ।

सबैभन्दा धेरै संक्रमितको सङ्ख्या काठमाडौंमा देखिएको छ। काठमाडौंमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० वटा संक्रमित भेटिएका छन्।

ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेंगुलाई शून्यमा नै ल्याउने र डेंगु गराउने लामखुट्टे सखाप नै पार्न भन्ने अवस्था सिर्जना गर्न नसकिए पनि नियन्त्रण भने गर्न सकिने बताए।

उनले भने, ‘डेंगुको संक्रमण र मृत्युदर घटाउन सकिन्छ। यसका लागि सबै जनाको समन्वय आवश्यक हुन्छ। नागरिक, समुदाय, सरकारी–गैरसरकारी संस्था सबैले हातेमालो गर्नुपर्छ।’ डा दाहालले यो वर्ष मनसुन छिट्टै सुरु भएको र मौसमविद्ले पानी धेरै पर्न सक्ने आकलन गरेकाले संक्रमण बढ्न सक्ने सम्भावना रहने सक्ने बताए।

तपाईको प्रतिक्रिया