Online Bichar
सोमबार, भाद्र ०८, २०८३ | Monday, August 24, 2026

काठमाडौं, २६ चैत २०८१ । राज्यविरुद्धको अपराधमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवल शमशेर राणा थप १५ दिन हिरासतमै बस्ने भएका छन्।

जिल्ला अदालत काठमाडौंले राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र सांसद राणालगायत अन्य पक्राउ परेका २० जनालाई थप अनुसन्धानका लागि १५ दिनको म्याद थप गरेको छ। काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले राज्यविरुद्धको अपराधमा अनुसन्धान गर्न राणासहित २० जनालाई थप अनुसन्धान गर्न १५ दिनको म्याद थप भएको जानकारी दिए।

यसअघि दिएको म्याद सकिएपछि प्रहरीले मंगलबार उनीहरूलाई अदालतमा उपस्थित गराएको थियो। अपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान गर्न अन्य व्यक्तिहरूलाई भने २० दिनको म्याद थप भएको छ।

चैत १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीको प्रदर्शनमा दुईजनाको ज्यान जानुको साथै थुप्रै निजी सम्पत्तिमा क्षति पुगेको थियो। प्रदर्शनकारीले मिडिया लक्षित आक्रमणसमेत गरेका थिए।

सोही दिन साँझ पक्राउ परेका राणा,मिश्रलगायत अन्य २० जना प्रहरी हिरासतमा छन्। उनीहरूमाथि राज्यविरुद्धको अपराधमा मुद्दा चलाउने प्रहरीको तयारी छ।

 

तपाईको प्रतिक्रिया