Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

एजेन्सी, २५ कार्तिक २०८१ । पाकिस्तानका १६ जिल्लामा पोलियो भाइरसका संक्रमित फेला परेका छन्। पाकिस्तानको राष्ट्रिय स्वास्थ्य संस्थानको पोलियो उन्मूलनका लागि क्षेत्रीय प्रयोगशालाले १६ जिल्लाको ढलको नमुनामा पोलियो भाइरस टाइप १ (डब्लुपिभी१) भेटिएको पुष्टि गरेको छ।

नमुनाहरू फेरि इस्लामाबाद, लाहोर, पेशावर, कराँचीका तीन जिल्ला चमन, शहीद बेनजिराबाद, बदिन, सुक्कर, हैदरावाद, सुजावल, दादु, कम्बर, ज्याकोबाबाद र डेरा गाजी खानबाट संकलन गरिएको थियो।

यी सबै जिल्लाहरूले पहिले भाइरस पत्ता लागेको थियो भने पुनः परिक्षण गर्दा पनि भाइरस फेला परेको छ ।

पोलियो भाइरसको रोकथाम गर्न खोप अभियान सञ्चालन गरिएको छ। यस अभियानअन्तर्गत पाँच वर्ष मुनिका ४ करोड ५० लाखभन्दा बढी बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको थियो।

पाकिस्तानमा सन् २०२४ मा पुष्टि भएका पोलियोका घटनाहरूको संख्या ४१ पुगेको छ। विश्व पोलियो दिवसको अवसरमा प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सेहबाज सरिफले अभियानको उद्घाटन गरेका थिए। यस अभियान अन्र्तगत बालबालिकालाई पोलियो खोपसँगै भिटामिन ‘ए’ पनि खुवाइएको थियो।

पोलियो उन्मूलनका लागि प्रधानमन्त्रीका विशेष दूत आयशा रजा फारुकले स्वास्थ्यकर्मीहरू खोप लगाउन देशका हरेक कुनामा पुग्ने दाबी गरेकी थिइन्।

पाकिस्तानको ४१ पोलियो संक्रमितमध्ये बलुचिस्तान प्रान्तमा मात्र २१ पोलियो संक्रमित भेटिएका थिए। यस प्रान्तमा सरकारले विशेष निगरानीका साथ खोप अभियान सञ्चालन गर्ने बताएको थियो। खोप अभियान २९ अक्टोबर देखि नोबेम्बर ३ तारिख सम्म सञ्चालन गरिएको थियो।

तपाईको प्रतिक्रिया