Online Bichar
बुधबार, मंसिर १०, २०८३ | Wednesday, November 25, 2026

काठमाडौं, १८ असार २०८१ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले २०८० सालको माध्यमिक शिक्षा परीक्षा(एसइई)मा सामुदायिक विद्यालयका विद्यार्थी उत्तीर्ण हुने दर ३६ प्रतिशत र संस्थागत विद्यालयमा उत्तीर्ण हुने दर ७८ प्रतिशत रहेको जानकारी दिएकी छिन्।

उनले यही नतिजाले प्रारम्भिक शिक्षा तथा बालविकासदेखि कक्षा १० सम्म विगतको एघार वर्ष विद्यालय शिक्षामा गरिएको लगानीको प्रतिफलले निकै चिन्तित, निराश र आक्रोशित समेत बनाएको बताएकी छिन्।

उनले भनेकी छिन्,‘हाम्रा विद्यार्थी अनुत्तीर्ण भएका हैनन्, शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय कक्षा १० र १२, शैक्षिक गुणस्तर परीक्षण केन्द्र, शिक्षक सेवा आयोग, प्रत्येक प्रदेशमा सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालय र शिक्षा तालिम केन्द्र, जिल्लामा शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तहका शिक्षा शाखा, महाशाखा, शिक्षा विभाग, हरेक विद्यालयमा स्थित विद्यालय व्यवस्थापन समिति,हरेक निकायका कर्मचारी, प्रधानाध्यापक, शिक्षक र अभिभावक,हामी सबै अनुत्तीर्ण भएका हौँ।’

उनले सबै आ(आफ्नो जिम्मेवारीबाट नराम्रोसँग चुकेका पनि बताइन। ‘अब पनि विद्यालय, समाज र सरकारका हरेक पात्रले निःस्वार्थ रुपमा आफ्ना विद्यार्थीका लागि काम नगर्ने हो भने अबको दश वर्षमा पनि नतिजा यही नै हुनेछ,’उनले भनेकी छिन्।

सरकारले नयाँ लेटरग्रेडिङ निर्देशिका लागू गर्दा परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये करिब ४८ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन। ५२ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३१३ जना फेल ९एनजी० भएका छन्। धेरै विद्यार्थीहरू फेल भएपछि चौतर्फी सरकारको आलोचना भइरहेको छ।

 

तपाईको प्रतिक्रिया