Online Bichar
बुधबार, मंसिर १०, २०८३ | Wednesday, November 25, 2026

विराटनगर, २५ मंसिर २०८० । नेपाल–भारत सीमा क्षेत्र दशगजामा विराटनगरका एक जना युवामाथि गोली प्रहार भएको छ । आइतबार साँझ ५ः४० बजेको समयमा गोली लागेर विराटनगर-८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका हुन् ।

विराटनगर-१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले गोली प्रहार गरेको उनले बताएका छन् । उनको बायाँ तिघ्रामा गोली लागेको छ । घाइते भएका संग्रौलाको उपचार विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा भइरहेको छ ।

‘उपभोग्य खाद्यवस्तु खरिदको लागि जोगवनी गएको थिएँ । साँझ घर फर्किने क्रममा जोगवनीदेखि उत्तर रेलको स्टेसनदेखि माथितिर दक्षिण गेटबाट विराटनगर जाँदै थिए । त्यही बिचमा ६ जना केटाहरूसँग भेट भयो । केही बेर भनाभन भयो । एक जनाले मलाई गोली हाने,’ कोशी अस्पतालमा उपचार गराइरहेका घाइते संग्रौलाले भने ।

कोशी अस्पतालको मेडिकल अफिसर डाक्टर तुलसी गोइतले एक्स–रे गर्दा तिघ्रामा बुलेट जस्तो देखिएको बताए । ‘तिघ्राभन्दा तल्लो भागमा छाया देखिएको छ । यो भनेको ‘फोरेन बडी’ हो । बुलेट जस्तो पनि देखिएको छ । तिघ्रादेखि तल फ्राक्चर पनि भएको छ । यो बुलेटको फोर्स लागेर पनि हुनसक्छ,’ उनले भने, ‘इनसिजर गरेर निकालेपछि मात्र कन्फर्म गर्न सकिन्छ ।’

यता मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले दशगजा क्षेत्रमा नभएर भारतीय भूमितिर गोली चलेको हुनसक्ने बताए । ‘दशगजामा भएको भए प्रहरीलाई थाहा हुने थियो । हामीले पनि बिरामी हस्पिटल आएपछि मात्र थाहा पाएका छौँ । घटना विषय अनुसन्धान भइरहेको छ,’ उनले भने ।

 

तपाईको प्रतिक्रिया